आफ्नो बुहारी, श्रीमती, भाउजू वा अन्य कुनै परिवारको सदस्य गर्भवती भएको खबर सुनेपछि परिवारमा खुसी छाउँछ । यो खुसीसँगै गर्भवती महिलाले गर्भ रहेको समयदेखि नौ महिनाको अवधिसम्म परिवारको साथ, सहयोग र मायाको अपेक्षा गरेकी हुन्छिन् ।
तर कतिपय अवस्थामा गर्भवती महिलाले परिवारको साथ सहयोग र माया पाउन सक्दिनन् । जसका कारण गर्भवती महिलाको नौ महिनाको यात्रा निक्कै कष्टपूर्ण हुन्छ ।

परिवारको कुनै सदस्य गर्भवती भएपछि उनलाई मानसिक रूपमा धेरै सहयोगको आवश्यक पर्छ । मानसिक रूपमा परिवारका सदस्य र श्रीमान्ले गर्भवतीलाई कसरी सहयोग गर्न सक्छन् ? यही विषयमा हामीले प्रसूति गृहका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारीसँग कुराकानी गरेका छन् ।
गर्भवती महिलामा किन मानसिक स्वास्थ्य समस्या देखिन्छ ?
अहिलेका महिलाहरू सशक्त छन् । उनीहरू घर पनि सम्हाल्छन्, बाहिर काम गर्न जाने पनि गर्छन् । अहिलेका महिलामा पहिलेका महिलामा भन्दा धेरै जिम्मेवारी छ । गर्भ रहनुअघि यो सबै कुरा म्यानेज गरिरहेका महिलाको गर्भ रहेपछि अर्को जिम्मेवारी थपिन्छ ।
गर्भ रहेपछि महिलाको शारीरिक मात्रै होइन, मानसिक रूपमा पनि विभिन्न परिवर्तन आउँछ । कतिपय परिवारले महिला गर्भवती भए पनि आवश्यक मानसिक सहयोग गर्दैनन् । यस्तो अवस्थामा पनि नमिठो बोलिदिने, माया नगर्ने परिवार पनि हुन्छन् । गर्भ अवस्थामा आवश्यक मानसिक सपोर्ट नपाएका कारण मानसिक रूपमा विक्षिप्त हुन्छन् । त्यसैले सुरुवाती चरणमा नै महिलाहरूमा मानसिक स्वास्थ्य समस्या देखिन थाल्छ ।
त्यसो भए गर्भवती महिलालाई परिवारले कस्तो व्यवहार गर्नुपर्छ ?
गर्भवती महिलालाई मानसिक रूपमा पिडा हुने काम गर्नु हुँदैन । नराम्रो शब्द बोल्ने, उसको मन दुख्ने काम गर्नुहुँदैन । गर्भवती महिला खुसी छैनन् भने उनले खाना नखाने, धेरै तनाव लिने गर्छिन्, तनावका कारण शरीरमा नकारात्मक हर्मोन उत्पादन हुन्छ । यसो हुँदा बच्चाको वृद्धि विकासमा धेरै असर गर्छ ।
श्रीमान्ले यो अवस्थामा कसरी सहयोग गर्न सक्छन् ?
दैनिक खाना पकाउने कुरामा सहयोग गर्ने, सामान्य हिँड्डुलमा सहयोग गर्ने, व्यायाम गराउने गर्नुपर्छ । गर्भावस्थाको तीन महिना महिलालाई बान्ता हुने समस्या हुन्छ, भान्छाको गन्धले झनै गाह्रो हुन्छ । यस्तो अवस्थामा श्रीमतीले तरकारी काटेर सहयोग गर्न सक्छिन् अनि श्रीमान्ले खाना पकाइदिने, लुगा धुन सहयोग गर्ने, सरसफाइको काममा सहयोग गरिदिने, घरको सबै काममा सहयोग गर्ने गर्नुपर्छ ।
श्रीमतीको कुरा सुनिदिने उनलाई आवश्यक सहयोग र माया गर्ने गर्नुपर्छ । गर्भवती महिलाले परिवारको मानसिक रूपमा सहयोग पाइनन् भने उनी विक्षिप्त हुन्छिन् । त्यसले मानसिक स्वास्थ्यमा असर पर्छ । त्यसैले गर्भवती महिलाको वरिपरि शान्त वातावरण भयो भने आमा बच्चा दुवैको अवस्था राम्रो हुन्छ । यो कुरामा ध्यान दिनुपर्छ ।
गर्भ रहेको केही महिनापछि पेटमा रहेको बच्चाले बाहिरको सबै कुरा महसुस गर्न सक्छ । घरमा झैझगडा भयो, आमा रोएको समेत बच्चाले महसुस गर्न सक्छ । त्यसो हुँदा बच्चाको मानसिक विकासमा असर पर्छ । त्यसैले घरमा शान्त वातावरण भयो भने आमा र बच्चा दुवैको मानसिक स्वास्थ्य राम्रो हुन्छ ।
गर्भवती महिलासँग कस्तो कुरा गर्ने, कस्तो कुरा नगर्ने ?
सकारात्मक कुरा गरिदिने । छोरा पाए पनि छोरी पाए पनि केही फरक पर्दैन भनिदिने । पहिले छोरी पायो यो पटक पनि छोरी पाउँछ जस्तो छ भनेर समाजमा गर्भवती महिलालाई प्रेसर दिने गरिन्छ, यस्तो गर्नुहुँदैन ।
अरूले छोरा पाएको उदाहरण पनि दिने गरिन्छ । यसो गर्यो भने गर्भवती महिलालाई मैले छोरी पाए भने परिवार, श्रीमान्ले माया नगर्ने हो कि ? भन्ने लाग्न सक्छ । अनि गर्भवती महिलालाई मानसिक तनाव हुन्छ, जसले गर्दा गर्भवती महिलाले जे पनि गर्न सक्ने, बच्चालाई वास्ता नगर्ने अवस्था समेत आउँछ । सामाजिक विसङ्गतिलाई चिर्दै लानुपर्छ । अशिक्षित व्यक्तिले त छोरा पाउन प्रेसर दिइरहेका हुन्छन् तर अहिले शिक्षित व्यक्तिले पनि छोरा पाउन प्रेसर दिने गरिरहेको देखिन्छ । यसो गर्नुहुँदैन यसले आमा र बच्चा दुवैलाई मानसिक रूपमा असर गर्छ । तर यो अवस्थामा महिलाहरू आफै बलियो बन्नुपर्छ, अरूले गरेको नकारात्मक कुरालाई अहिलेका महिलाले चिर्न सक्नुपर्छ ।






