काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन प्रस्थान गरेका छन्।
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागि हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ स्पेन प्रस्थान गरेका हुन्।

ओलीलाई त्रिभुवन विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर दिएर बिदाइ गरेको हो। ओली कतार एयरवेजको जहाजबाट दोहा हुँदै भोलि स्पेनको राजधानी म्याड्रिडमा पुग्ने छन्।
भ्रमण टोलीमा २१ जना सहभागी हुनेछन् जसमा स्पेनस्थित नेपाली राजदूत र न्युयोर्कस्थित आवासीय प्रतिनिधि समेत हुनेछन्।
परराष्ट्रमन्त्रालयका सचिव सहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारी सहितको टिमका अतिरिक्त अर्थसचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा छन्।
प्रधानमन्त्रीको मुख्य सल्लाहकारसहित स्वकीय सचिवालयका आवश्यक व्यक्तिहरु पनि टोलीमा रहेको बताइएकोछ।
प्रधानमन्त्री ओली यही असार २० गते शुक्रबार अपराह्न स्वदेश फर्कने कार्यक्रम छ।






