एशियन च्याम्पियन्सीप अन्तर्गत लाओसविरुद्धको खेल अगाडि नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसमा अभ्यास शुरु गरेको छ ।
शुक्रवार राती लाओसको राजधानी भियन्तियनमा आइपुगेको नेपाली टोलीले आजबाट अभ्यास गरेको हो । अभ्यासका क्रममा टोलीका कप्तान किरण चेम्जोङगले लाओसको वातावरण र मौसमलाई मध्यनजर गर्दै टोलीले अभ्यास शुरु गरेको जानकारी दिनुभयो । हङकङ्गसँगको बराबरी खेलेर हौसिएको नेपाली टोली च्याम्पिन्सीपको खेल हुनु तीन दिनअघि लाओसमा अभ्यास गर्ने वातावरण बन्नाले फाइदा पुग्ने उहाँको भनाई छ । यसअघि पनि लाओससँग खेलिसकेको हुँदा धेरै समस्या नहुने बताउनुभएको छ । कप्तान चेम्जोङले खेलाडीमा भएका थकान मेटाउँदै अभ्यासबाट उर्जासहित घरेलु टोली लाओससंग प्रतिष्पर्धा गर्ने उल्लेख गर्नुभयो । बलियो टोली हङकङ्गसँग खेल्दा नेपाललाई फाइदा पुगेको उहाँको भनाई छ ।

मैदानमा करिव २ घण्टा अभ्यास गरेको खेलाडीहरुलाई प्रशिक्षक म्याट रसले मानसिक र शारिरीक रुपमा तयार रहन आग्रह गर्नुभएको थियो । सोही क्रममा खेलाडीहरुले चर्को घाम र गर्मीसँगै अभ्यास गरेका थिए । नेपाली टोलीले जेठ २७ गते मंगलवार घरेलु टोली लाओससँग प्रतिष्पर्धा गर्दैछ । लाओससँग पछिल्लो ६ खेलमा नेपाली टोलीले ४ मा जित हात पारेको छ भने २ खेलमा बराबरीमा रोकिएको छ । यससँगै लाओसको मैदानमा नेपाली टोलीले दुई खेलमा १ मा जित र १ मा बराबरी गरेको छ । —न्युज एजेन्सी नेपाल






