विराटनगर ,१७ जेठ। अविरल वर्षासँगै आएको बाढीका कारण निर्माणाधीन पूर्वपश्चिम राजमार्गको केही स्थानमा सडक अवरुद्ध भएको छ । बाढीले डाइभर्सन बगाएका कारण यातायात अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार काली खोलाले बाढीले ड्राइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ । यद्धपि बैकल्पिक बाटोबाट यातायात खुलाइएको उनले बताए ।

बाढीले धुलाबारीनजिकको कल्भर्टको ड्राइभर्सन बगाएको छ । सो स्थानमा अस्थायी रुपमा माटो पुरेर एकतर्फी यातायात सुचारु गरिएको छ ।
बुट्टावारी चारआली सडकखण्डमा पनि बाढीले डाइभर्सनमा क्षति पुर्याएको छ ।
उनका अनुसार माइखोलामा आएको बाढी भने बस्ती पसेको छ । झापाको झापा गाउँपालिका २ मा बस्तीमा पसेको हो ।
नदीको बाढी बस्ती तर्फ गएपछि २२ घर परिवार विस्थापित भएका छन् । घटनास्थलमा प्रहरी र जनप्रतिनिधिको टोली पुगेर स्थानीयलाई सारेको उनले बताए । उनका अनुसार केही घरमा बाढीको पानी पसेको हो ।
मनसुन भित्रिएको एक दिनपछि वर्षासँगै आएको बाढीका कारण कोशी लोकमार्ग पनि अवरुद्ध भएको छ ।






