प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय विकासका लागि स्रोतको उचित परिचालन र सहयोगी भावना आवश्यक रहेको बताउनुभएको छ ।
आईतवार नेकपा (एमाले) वागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बलियो वडाले कमजोर वडालाई सहयोग गर्न आग्रह गर्नुभएको हो । स्थानीय विकास, स्रोत परिचालन, संघ र प्रदेशबाट आउने स्रोतको सदुपयोग गर्न सुगम क्षेत्रले दुर्गम क्षेत्रलाई सहयोग गर्न उहाँको आग्रह छ । प्रधानमन्त्री ओलीले सरकारी संघसंस्थाका साथै गैरसरकारी संघसंस्थाहरुसँगको सहकार्यलाई पनि प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘स्थानीय विकास, स्रोत परिचालन, माथिबाट आउने स्रोतको सदुपयोग र त्यहीबाट स्रोत सिर्जना कसरी गर्न सकिन्छ ? कतिपय पालिका स्रोतयुक्त र कतिपय स्रोतविहिन छन् । त्यसकारण स्रोत हुने पालिकाले नहुने पालिकालाई सहयोग गरौँ । बलियो वडाले कमजोर वडालाई सहयोग गरौँ, सुगमकाले दुर्गमकालाई मद्दत गरौँ । यसरी सहयोगी भावनाको विकास गरेर हामी अघि बढ्नुपर्छ । यसबारे तपाईहरुसँग सरकारी संघसंस्थाहरु बाहेक गैरसरकारी संघसंस्थाहरु हुन्छन् । ति संघसंस्थाहरुलाई तपाईले कसरी परिचालन गर्न सक्नुहुन्छ र तिनिहरुसँग भएको स्रोतलाई पनि कसरी परिचालन गर्न सक्नुहुन्छ ?’

उहाँले स्थानीय तहबीच आपसी सहकार्य, समन्वय र साझा प्रयासमार्फत विकास निर्माणमा गतिशीलता ल्याउन सकिने धारणा व्यक्त गर्नुभयो । —न्युज एनेन्सी नेपाल






