पूर्वप्रधानमन्त्री झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नरहेको बताउनुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको अन्तरबिरोधलाई चिरेर सही ढंगले निक्र्यौल गर्न जरुरी रहेको बताउनु भयो । कुनैपनि देशमा सर्वहारा श्रमीक वर्गको एउटै पार्टी नबनेसम्म क्रान्ति गर्न सम्भव नरहेको उहाँको भनाइ छ । आजका अवस्थामा आफूहरुको निशाना को हो ? कसका बिरुद्ध समाजवादी क्रान्ति गर्छौं नेपालमा ? भन्नेकुरालाई स्पष्ट पारेर समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्ने बताउनु भयो । त्यसका लागि कम्युनिष्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकतावद्ध बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । साना—साना राजनीतिक दलहरु खोलेर सानो—सानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको भन्दै यसलाई तोड्नुपर्ने बताउनु भयो ।
पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, ‘आजको प्रधान अन्तरबिरोध के हो ? त्यो कुरालाई सही ढंगले निक्र्यौल गर्दै आजका अवस्थाको को हो हाम्रो निशाना ? कसका बिरुद्ध हामी लड्दै हामी समाजवादी क्रान्ति गर्छौं नेपालमा ? यो कुरालाई स्पष्ट पार्दै हामीले समाजवादी क्रान्तिलाई सम्पन्न गर्नुपर्नेछ । त्यसका लागि कम्युनिष्ट पार्टीलाई अझ बढी सही वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको आधारमा एकतावद्ध बनाउनुपर्नेछ । यो पार्टीलाई अहिले जसरी बुकुरे, बुकुरे, बुकुरे पार्टीहरु बनाउने र अलग अलग सानोसानो कसौँडीमा दाल पकाएर खाने खालको अवस्था बनेको छ । यो चिजलाई हामीले तोड्नुपर्छ । एउटै एकीकृत पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव हुँदैन । कुनैपनि देशमा सर्वहारा श्रमीक वर्गको एउटै पार्टी हुन्छ । त्यो आन्दोलनभित्र बुर्जुवा वर्गका विचारहरु प्रवेश गर्ने, चिर्ने कारणले मात्रै कि उग्र वामपन्थ की दक्षिणपन्थ भड्काउ हुने कारणले समूहरु प्रकट हुने गर्दछन् । हाम्रो देशको हालत त्यही हो । कम्युनिष्ट आन्दोलनभित्र प्रकट भएका अवसरवादी चिन्तनहरु खासगरी यतिबेला दक्षिणपन्थी अवसरवादी चिन्तनहरुलाई परास्त गर्दै हामीले क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा हाम्रो देशको समाजवादी क्रान्तिको रुपान्तरण अघि बढाउनुपर्छ ।’

पूर्वप्रधानमन्त्री खनालले मदन भण्डारीका योगदानको समीक्षा गर्न आँट गर्नुपर्ने बताउनु भयो । दक्षिणपन्थी अवसरवादी चिन्तनहरुलाई परास्त गर्दै हामीले क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तको आधारमा हाम्रो देशको समाजवादी क्रान्तिको रुपान्तरण अघि बढाउनुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर