आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममा विगतमा भन्दा केही नयाँ कार्यक्रमलाई जोड दिन खोजेको देखिएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सगरमाथा संवाद र शून्य कार्बन लक्ष्य
सरकारले २०८२ जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद आयोजना गर्ने घोषणा गरेको छ । यो संवाद जलवायु परिवर्तन र दिगो विकासका विषयमा अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना हुने बताइएको छ ।
पर्यावरणीय सुरक्षाका लागि संवादबाट आउने सिफारिसलाई ध्यानमा राखी जलवायु अनुकूलन र प्रभाव न्यूनीकरणका कार्यक्रमहरू लागू गरिनेछन् ।
यससँगै, २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने देश बन्ने प्रतिबद्धता सार्वजनिक भएको छ । यो नेपालको जलवायु कूटनीतिमा महत्त्वपूर्ण कदम हुने सरकारको दाबी छ । यसको माध्यमबाट नेपालले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै आफ्नो कूटनीतिक प्रभावलाई पनि बिस्तार गर्न खोजेको छ ।
सगरमाथा संवादले एउटा बहुपक्षीय जलवायु मञ्चको रूपमा काम गर्नेछ । उक्त संवादमा अन्तर्राष्ट्रिय वैज्ञानिक, नीति निर्माता र सामाजिक संस्थाहरूलाई आमन्त्रित गरिएको छ ।
यस संवादले जलवायु अनुकूलनका लागि प्रभावकारी नीति निर्माणमा सहयोग पुर्याउने र नेपालको पर्यावरण संरक्षण योजनामा पनि ध्यान दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘कमाउँदै–पढ्दै’नीति, ‘जेन जी’लाई प्राथमिकता
नीति तथा कार्यक्रममा विद्यार्थीलक्षित ‘कमाउँदै–पढ्दै’ नीति पनि समेटिएको छ । यसले विद्यार्थीहरूलाई आर्थिकरूपले आत्मनिर्भर बनाउन सहयोग पुर्याउने अपेक्षा सरकारको छ ।
राष्ट्रपति पौडेलले शिक्षा र रोजगारलाई जोड्नका लागि सरकारले यस्तो नीति ल्याएको बताएका छन् ।
त्यस्तै, सरकारले विद्यार्थीका लागि इन्टर्नशिप अवसर पनि सुलभ बनाउने योजना बनाएको छ । यसअन्तर्गत, विद्यार्थीले साप्ताहिक २० घण्टा सरकारी सेवामा काम गर्न सक्नेछन् र यसका लागि न्यूनतम पारिश्रमिक प्राप्त गर्नेछन् ।
यस नीतिले विद्यार्थीहरूको शैक्षिक जीवन र व्यक्तिगत विकासमा ठूलो योगदान पुर्याउने सरकारको अपेक्षा छ ।
साथै, सरकारले ‘जेन जी’ पुस्तालाई विशेष प्राथमिकतामा राख्दै युवाकेन्द्रित स्टार्टअप कार्यक्रम शुरू गर्ने घोषणा गरेको छ ।
राष्ट्रिय सहकारी विनियमन प्राधिकरण
सहकारी क्षेत्रको सुधारका लागि सरकारले राष्ट्रिय सहकारी विनियमन प्राधिकरण स्थापना गर्ने नीति ल्याएको छ ।
अव्यवस्थित व्यवस्थापन, सदस्यको बचत सुरक्षामा कमीकमजोरी र ऋण असुलीका समस्या समाधान गर्ने उद्देश्यले सरकारले प्राधिकरण गठन गर्ने भएको हो ।
नीति तथा कार्यक्रममा सहकारी नीति पुनरवलोकन गरेर नयाँ राष्ट्रिय नीति तयार गर्ने र सहकारी क्षेत्रको राम्रो निर्देशन र सुधार गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
जलवायु स्वास्थ्य ल्याब
नेपाल सरकारले जलवायु परिवर्तनका स्वास्थ्यसँग सम्बन्धित चुनौतीको समाधानका लागि ‘क्लाइमेट हेल्थ रेजिलिएन्स ल्याब’ स्थापना गर्ने नीति लिएको छ ।
जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा बढिरहेका जोखिमहरूलाई कम गर्न यस ल्याबले विभिन्न कार्यक्रम र अनुसन्धान गर्नका लागि काम गर्ने नीति तथा कार्यक्रममा जनाइएको छ ।
विशेषगरी, जलवायुजन्य रोगको रोकथाम, उपचार र अनुसन्धानमा यो ल्याबले महत्त्वपूर्ण भूमिका निभाउनेछ ।
नेपालको आफ्नै भू-उपग्रह
राष्ट्रपति पौडेलद्वारा वाचित नीति तथा कार्यक्रममा सरकारले आफ्नै भू-उपग्रह सञ्चालन गर्ने पनि उल्लेख छ । नेपालको साइबर सुरक्षा र डिजिटल पूर्वाधारलाई बलियो बनाउने उद्देश्यका साथ यो कार्यक्रम लागू गरिने बताइएको छ ।
उक्त भू-उपग्रहले नेपाललाई विशेषत: मौसम विज्ञान, भूकम्प निगरानी र अन्य प्राकृतिक विपत्तिका बारे अत्यधिक जानकारी दिन सक्षम बनाउने छ ।
यो कार्यक्रममार्फत नेपालको साइबर सुरक्षा र सूचना प्रविधिमा क्रान्तिकारी परिवर्तन आउने अपेक्षा सरकारले गरेको छ ।
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा ड्रोन
सरकारले ल्याएको नीति तथा कार्यक्रममा नेपालको वन्यजन्तु र मानव समुदायबीचको द्वन्द्वलाई समाधान गर्न ड्रोन प्रयोग गर्ने योजना बनाइएको छ ।
वन्यजन्तुले हानी पुर्याएको ठाउँमा ड्रोनमार्फत राहत वितरण गरिनेछ भने वन्यजन्तुको अनुगमनलाई पनि यसले सहज बनाउनेछ ।
संकटापन्न वन्यजन्तुको गणना, उनीहरूको वासस्थानको पहिचानजस्ता धेरै विषयलाई ड्रोनको प्रयोग गरेर पहिचान गर्न सकिने र वन्यजन्तु जीवनको गुणस्तरलाई सुधार्न सकिने अपेक्षा सरकारले लिएको छ ।
यसको प्रयोगले नेपालको वन्यजन्तु संरक्षणमा पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
योगमाया आयुर्वेद विश्वविद्यालय
सरकारले आयुर्वेद र वैकल्पिक चिकित्सा प्रणालीलाई प्रवर्द्धन गर्न योगमाया आयुर्वेद विश्वविद्यालय सञ्चालन गर्ने कार्यक्रम ल्याएको छ ।
यस विश्वविद्यालयले परम्परागत चिकित्सा प्रणालीलाई आधुनिक अनुसन्धानसँग जोडेर नयाँ स्वास्थ्य सेवा प्रदान गर्नेछ ।
यो विश्वविद्यालयको निर्माण नेपालको स्वास्थ्य क्षेत्रमा एक नयाँ र महत्वपूर्ण पहल हुने सरकारको विश्वास छ । यस विश्वविद्यालयले आयुर्वेद र अन्य परम्परागत चिकित्सा प्रणालीलाई विज्ञान र प्रविधिको आधुनिक दृष्टिकोणसँग समायोजन गर्ने अपेक्षा गरिएको छ ।
स्पोर्ट्स स्कूल र खेलकुद पूर्वाधार
सरकारले युवाको शारीरिक र मानसिक विकासका लागि स्पोर्ट्स स्कूलको अवधारणालाई नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
यस कार्यक्रमले खेलकुदका क्षेत्रमा युवालाई प्रोत्साहित गर्ने र स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खेलकुदमा सुधार ल्याउने लक्ष्य राखेको छ ।
राष्ट्रपतिले वाचन गरेको नीति तथा कार्यक्रममा खेलकुद पूर्वाधारको सुधारका लागि त्रिभुवन विश्वविद्यालयको खेलमैदानलाई आधुनिक बनाइने उल्लेख छ ।
त्यस्तै, नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रिय पदक जितेका खेलाडी र तीनका सन्तानलाई छात्रवृत्ति प्रदान गर्ने नीति पनि ल्याइने उल्लेख छ ।
सडक मानवमुक्त नेपाल
नीति तथा कार्यक्रममा सरकारले सडकमा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र मानसिक रोगीको उद्धार गरी सडक मानवमुक्त नेपाल अभियान सञ्चालन गर्ने योजना बनाएको उल्लेख छ ।
यसले सडक मानवमुक्त नेपाल निर्माण गर्ने दिशातर्फ महत्त्वपूर्ण भूमिका खेल्ने सरकारको अपेक्षा छ । उनीहरूका लागि छुट्टै पुनःस्थापना केन्द्र र शिक्षालय बनाएर समाजको आधारभूत हिस्सासँग जोड्ने तयारी सरकारले गरेको हो ।
हरित हाइड्रोजन र बायोइथानोल नीति
त्यस्तै, सरकारले नीति तथा कार्यक्रममा ऊर्जा क्षेत्रमा वैकल्पिक स्रोतको उपयोगलाई प्राथमिकता दिएको छ ।
हरित हाइड्रोजन उत्पादनको कार्यक्रम ल्याउने घोषणा गरिएको छ भने पेट्रोलमा बायोइथानोल मिसाउने नीति पनि लागू गरिने राष्ट्रपति पौडेलद्वारा वाचित नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यसले नेपालको ऊर्जा आत्मनिर्भरता र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने सरकारको अपेक्षा देखिन्छ ।
सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत देशको सामाजिक, आर्थिक र वातावरणीय सुधारका लागि अन्य विभिन्न महत्त्वपूर्ण योजना पनि प्रस्तुत गरेको छ ।
स्वास्थ्यर शिक्षामासुधार
सरकारले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि ‘निरोगी नेपाल अभियान’ शुरू गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
यस अभियानअन्तर्गत क्यान्सर र मिर्गौला प्रत्यारोपण सेवा विस्तार गरिने र स्वास्थ्य बीमा प्रणालीलाई एकीकृत गर्दै गम्भीर रोगहरूको उपचार सुनिश्चित गरिने बताइएको छ ।
त्यस्तै, संघीय स्वास्थ्य सेवा प्राधिकरण र राष्ट्रिय प्रत्यायन प्राधिकरण स्थापना गरेर देशभर स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
२०८४ भित्र सबै बालबालिकालाई आधारभूत शिक्षा उपलब्ध गराउने लक्ष्य नीति तथा कार्यक्रमले राखेको छ । साथै, प्राविधिक र विश्वविद्यालय शिक्षामा पहुँच सुनिश्चित गर्न शैक्षिक मार्गचित्र तयार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
त्यस्तै, सामुदायिक विद्यालयहरूको गुणस्तरीय सुधार र डिजिटल शिक्षण सामग्रीको विकासमा पनि जोड दिइने उल्लेख छ । कृषि र खाद्य सुरक्षा, ऊर्जा क्षेत्रमा सुधार, पर्यटन र संस्कृति प्रवर्द्धन, सामाजिक सुरक्षा र समावेशीकरण वातावरण संरक्षण, यातायात र पूर्वाधार सुधार, राष्ट्रिय सुरक्षा र परराष्ट्र नीति जस्ता अन्य धेरै कार्यक्रमहरू सरकारको नीति तथा कार्यक्रममा समेटिएका छन् ।
राष्ट्रपतिको नाम जोडिएका कार्यक्रम परिमार्जन
सरकारले राष्ट्रपतिको नाम जोडिएका कार्यक्रमको नाम परिमार्जन गर्ने भएको छ ।
राष्ट्रपतिको नाम जोडिएका शैक्षिक सुधार कार्यक्रम, राष्ट्रपति चुरे संरक्षणजस्ता कार्यक्रमको नाम परिमार्जन गरिने भएको छ ।
शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ती कार्यक्रमको नाम परिमार्जन गरिने बताएका हुन् ।
‘राष्ट्रपति शैक्षिक सुधार परिमार्जन राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको रूपमा गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।
सरकारले संसद्को यसै अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।






