काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाको अनुसन्धानका शिलशिलामा पक्राउ परेका राप्रपा महामन्त्री एवं सांसद डा. धवलशमशेर जबरालाई रिहा गर्ने तयारी भएको छ । स्वास्थ्य समस्याका कारण देखाएर परिवारले राणालाई रिहा गर्न माग गर्दै आएका थिए ।
बोलाएको बखत उपस्थित हुने सर्तमा राणालाई रिहा गर्न लागिएको गृहमन्त्रालय स्रोतले बतायो । १५ गतेको घटना उक्साउन भूमिका खेलेको भन्दै राणालाई घाइते भेट्न अस्पताल पुगेको बेला पक्राउ गरिएको थियो ।

प्रक्रिया पुर्याएर उनलाई आइतबार रिहा गर्ने सम्भावना रहेको स्रोतले बतायो ।
अदालतबाट म्याद थपेर राणालाई प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको छ । केही महिना मात्र क्यान्सरको उपचार गरेर फर्केका राणा फलोअपका लागि भारतको मुम्बई जानुपर्ने भएकोले उनलाई रिहा गर्न लागिएको स्रोतले बतायो ।
राणासँगै पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अरु केही समय थुनामै रहने भएका छन् ।
राणा र मिश्रको रिहाइका लागि दबाब दिन भन्दै राप्रपाले वैशाख ७ गते काठमाडौंमा प्रदर्शन गर्ने बताएको छ ।






