विराटनगर । कोसी पर्यटन वर्ष २०८२ को आज उद्घाटन हुँदै छ। गत असोजमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पर्यटन वर्ष २०८२ घोषणा गरेको ७ महिनापछि बुधबार उद्घाटन गर्न लागिएको हो।
पहिला प्रधानमन्त्री केपी शर्मा ओलीले नै पर्यटन वर्ष उद्घाटन गर्ने चर्चा थियो। तर, आज पर्यटन वर्षको शुभारम्भ भने उपप्रधानमन्त्री प्रकाशमान सिंहले गर्ने भएका छन्।

कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन भन्दै कोसी सरकारले पर्यटन वर्ष मनाउन लागेको हो। तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङमा फैलिएको लालीगुराँसको राजधानी टीएमजेबाट पर्यटन वर्षको शुभारम्भ हुनेछ।
संसारका अग्ला हिमालमध्ये कञ्चनजङ्घा, मकालु, ल्होत्से, आमादब्लम, लुप्से र पुमोरी जस्ता हिम शृङ्खला यस प्रदेशका गहना हुन्। यी हिम शृङ्खला पर्वतारोहण पर्यटनसँगै साहसिक पर्यटनका लागि विश्व प्रसिद्ध मानिन्छन्।
यस प्रदेशमा सबैभन्दा होचो भूभाग झापाको कचनकवलदेखि संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथासमेत पर्ने भएकोले कोसी प्रदेशमा पर्यटन प्रवर्द्धनका लागि पर्यटन वर्ष आयोजना गरिएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।
‘कोसी प्रदेशको सबैभन्दा बढी सम्भावना बोकेको धार्मिक पर्यटन हो,’ मुख्यमन्त्री कार्कीले भने, ‘यसको प्रचार प्रसार र प्रवर्द्धनको लागि २०८२ लाई पर्यटन आधार वर्षको रूपमा मनाउन लागेका हौँ।’
हिन्दु र किरात समुदायको आस्थाको केन्द्र पाथीभरा (मुकुम्लुङ), संसारको नै पहिलो भगवान् विष्णु अवतार वराह क्षेत्र, पौराणिक कुम्भ चतरा धाम, पौराणिक कालमा भगवान् रामले बालेको रामधुनी, दन्तकाली, चण्डेश्वर अनि हिन्दु र बौद्ध धर्मको आस्थाको केन्द्र हलेसी महादेव, महाभारतकालीन राजा विराटको दरबार क्षेत्रलाई प्रदेश सरकारले प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा प्रचार गर्दै आएको छ।
सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज, सिमसार संरक्षणका लागि रामसार सूचीमा सूचिकृत गोक्यो ताल, माई पोखरी र कोसी टप्पु वन्यजन्तु आरक्षलगायत जैविक विविधताले भरिपूर्ण मकालु वरुण राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्घा संरक्षण क्षेत्र, तीनजुरे मिल्के जलजलेको लालिगुँरास क्षेत्रलाई घुम्नै पर्ने ठाउँको रूपमा प्रवर्द्धन गर्ने तयारी सरकारले गरेको छ।
‘धर्मगुरु फाल्गुनन्द जन्मस्थान, किचकबध, कन्याम, श्रीअन्तु जस्ता प्रसिद्ध गन्तव्यहरू पनि यसै प्रदेशमा पर्दछन्,’ मुख्यमन्त्री कार्कीले भने, ‘आज हामीले पर्यटन वर्षको घोषणा गरिसकेपछि यी क्षेत्रको विस्तार विकास, संरक्षण र प्रवर्द्धनको लागि के के कुरा आवश्यक पर्छन् त्यसका लागि सरकारले गर्नु पर्ने सबै खालका गतिविधि गर्छ।’
यी हुन् कोसीका गन्तव्य
कोसीका हरेक जिल्लामा केही न केही पर्यटकीय क्षेत्र रहेकोले त्यसको नक्सांकनको काम पनि सँगै सुरु भएको कोसी सरकारले जनाएको छ।
श्रीअन्तु, कन्याम, करफोक, माई पोखरी, फालेलुङ, तिम्वुङ पोखरी क्षेत्र, रोङ, सलकपुर, भेडेटार, जेफाले, उदयपुरगढी, चौदण्डीगढी, हतुवागढी, अरुण उपत्यका, जेफाले, सिंहदेवीलगायतका क्षेत्र पनि कोसीका पर्यटकीय गन्तय हुन्।
त्यस्तै वन्यजन्तुमैत्री खास गरेर हात्तीमैत्री पर्यटन बाहुन डाँगी जैविक विविधता र ग्रामीण पर्यटनको मोडलको रूपमा रहेको पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए।
उनले पर्यटन क्षेत्रको विकाससँगै कोसी प्रदेशमा होटल व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको छ। विराटनगर, धरान, गाईघाट, काँकडभिट्टा, धुलाबारी, बिर्तामोड, इलाम, श्रीअन्तु, कन्याम, वसन्तपुर, सल्लेरी, लुक्ला, नाम्चे बजार, हलेसी जस्ता सहर र गन्तव्यहरूमा सुविधायुक्त आधुनिक होटलहरू उपलब्ध रहेकोले पर्यटनको लागि समस्या नभएको उनले बताए।
यस प्रदेशका पहाडी तथा हिमाली जिल्लामा होमस्टे पनि लोकप्रिय बन्दै गएका छन्। जसमध्ये प्रदेशमा दर्ता भएर सञ्चालनमा रहेका होमस्टे ६१, होटल ३२ र ट्राभल्स र ट्रेकिङ एजेन्सी १०३ वटा रहेको सरकारी तथ्याङ्क छ।
कोसीमा साहसिक पर्यटनमा सगरमाथा आधार शिविर ट्रेक, मकालु वरुण ट्रेक, कंचनजङ्गा आधार शिविर, तिम्वुङ पोखरी ट्रेक, मुन्धुम ट्रेल, र्याफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइक, साइक्लिङ, एवं साहसिक पर्यटनसँग सम्बन्धित खेलकुदले पर्यटकलाई आकर्षित गरिरहेका छन्।
प्याराग्लाइडिङ र माउन्टेन बाइकका लागि नयाँ गन्तव्य र सम्भावनाहरूको पहिचान हुने क्रम विस्तार हुँदै गएको पर्यटन वर्ष मूल आयोजक समितिका सह संयोजक भविश श्रेष्ठले जानकारी दिए । उनले भने, ‘भारतीय क्षेत्रहरू बिहार, पश्चिम बङ्गाल र आसामका अत्यन्त गर्मी हुने ठाउँका नागरिकलाई यस प्रदेशमा मौसमी अनुकूलता, धार्मिक पर्यटन र मनोरम प्राकृतिक दृश्य हेर्नुका साथै मनोरञ्जनात्मक पर्यटनका लागि ल्याउन सकिने पर्याप्त सम्भावना छ।’
प्रदेश सरकारले २०८१ साल कार्तिक २१ गते मन्त्रिपरिषद्बाट निर्णय गरी कोसी प्रदेश पर्यटन वर्ष २०८१ सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ स्वीकृत गरेको थियो।






