राजविराज,२५ चैत्र । मुलुकको दिगो विकास, सामाजिक रूपान्तरण र उज्यालो भविष्यको मूल आधार शिक्षा रहेको मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले बताउनु भएको छ ।
लमो समय देखि आन्दोलनरत शिक्षकहरुको समस्या र सामाधानको विषय केन्द्रित रहेर पूर्वमन्त्री साहले सोमवार सामाजिक सञ्जालमा लेखेका छन — नेपालको शिक्षा क्षेत्र हाल अत्यन्तै अन्यौल, दिशाहीनता र गुणस्तरहीनता प्रति उन्मुख छ। यसको मुख्य कारण सरकारको अदूरदर्शी, त्रुटिपूर्ण तथा व्यवहारमा आधारित नभएका नीति, ऐन, कानून र कमजोर व्यवस्थापन प्रणाली हुन ।

उनले शिक्षा क्षेत्रमा बढ्दो विकृति, विसंगति, अस्तव्यस्तता र अन्यौलताको अन्त्य गर्नु आजको अत्यावश्यक आवश्यकता बनेको बताएका छन ।
यही अवस्थाको विरोधस्वरूप, बाध्यतावश शिक्षकहरू आफ्ना जायज मागहरू लिएर केही दिनदेखि काठमाडौँको सडकमा आन्दोलनरत छन्। सरकारले यथाशीघ्र आन्दोलनरत शिक्षकहरूसँग संवाद गरी उनीहरूको न्यायसंगत मागहरू समाधान गर्नु अत्यावश्यक छ।
यसका साथै, शिक्षा सम्बन्धी नीति, योजना, ऐन, कानून तथा कार्यक्रमहरूको गम्भीर पुनरावलोकन गरिनु पर्छ। व्यापक सुधार मार्फत शिक्षा क्षेत्रको विकृति, विसंगति र अराजकतालाई अन्त्य गरी, सबैलाई समान अवसरमा आधारित गुणस्तरीय शिक्षा सुनिश्चित गरिने व्यवस्था तत्काल गर्न जरुरी रहेको बताएका छन।






