राजविराज । तराई मधेशका जिल्ला सहित देशभर चैती छठको मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइँदै छ।
मंगलबारदेखि सुरु भएको चैती छठ पर्वको तेश्रो दिन बिहीबार छठ घाटमा श्रद्धालुहरु आ–आफ्नो अर्घ्य लिएर पुगेका छन्।

छठको मुख्य दिन भएकोले जनकपुरधामका पोखरीहरुमा बनेको छठ घाटमा श्रद्धालु तथा हेर्नेहरु आउन थालेका छन्।
कात्तिक महिनामा मनाइने छठ पर्वजतिको संख्यामा श्रद्धालुभक्तजनहरु नभए पनि चैती छठ पर्व मनाउनेहरुको संख्या बढ्दै गएको छ।
शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि चैती छठ सम्पन्न हुनेछ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ। दोस्रो दिन बुधवार खरना पर्व मनाइएको थियो।
खरनामा ब्रतालुहरुले निराहार उपवास बसी साँझपख खष्ठीदेवीलाई प्रसाद चढाइ खाने गर्छन्। प्रसादमा खीर ,केरा, दुधसँगै विभिन्न प्रकारका फलफूल चढाउने गरिन्छ।







