काठमाण्डौं,१६ चैत्र । प्रहरीले रवीन्द्र मिश्र, धवल शमशेर राणा सहित ५ जना नेताहरूलाई पक्राउ गरेको छ।
काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन उग्र रूप लिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले जानकारी दिए।

पक्राउ पर्नेमा मिश्र, राणा, स्वागत नेपाल, सन्तोष तामाङ र लिम्बू थर गरेका एक जना रहेको डिआइजी आचार्यले बताए।
प्रहरीले राजावादीको कमान्डर भनिएका दुर्गा प्रसाईंको पनि खोजी गरिरहेको छ। तर उनी सम्पर्कबिहीन छन्।
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा केहीबेरअघि उनीहरु राजधानीको ग्वार्को क्षेत्रबाट पक्राउ परेको राप्रपाका प्रवक्ता सगुन लावतीले पुष्टि गरे ।
बीएण्डी अस्पतालबाट बिरामी भेटेर फर्किँदै गर्दा उनीहरुलाई ‘केही बुझ्नुपर्ने’ भन्दै प्रहरीले पक्राउ गरेर लगेको उनको भनाइ छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको बताइएको छ । दुबैलाई अहिले टेकु लगिएको छ ।
शुक्रबार दिउँसो राजावादीको हिंसात्मक प्रदर्शन हुँदा २ जनाले ज्यान गुमाएका थिए भने व्यापाक तोडफोडको घटना भएको थियो । उक्त प्रदर्शनमा राजा र मिश्रसहितका राप्रपाका नेताहरु पनि सहभागी थिए । दुर्गा प्रसाईं मुख्य आयोजक भएको उक्त कार्यक्रममा राजावादी समूहहरुको संयुक्त मोर्चा पनि सहभागी थियो ।






