काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट तय भएको छ।
तीन नेताबीच सोमबार अपराह्न ४ बजे सिंहदरबारमा भेट्ने समय तय भएको प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेलले जानकारी दिए।

‘भोलि दिउँसो ४ बजे शीर्ष नेता मात्रै छलफलका लागि बस्ने तय भएको छ’ उनले भने।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्त हुनै बाँकी छ। त्यसका लागि सिफारिस समिति (सर्च कमिटी) समेत गठन हुन सकेको छैन। सिफारिस समितिमा सहमति जुटाउन तीन दलका शीर्ष नेताको बैठक बस्न लागेको उनले बताए।
यसअघि चैत ६ गते पनि तीन शीर्ष नेताको बैठक बस्ने तयारी थियो। तर, माओवादी अध्यक्ष प्रचण्ड पार्टीको तराई-मधेस जागरण अभियानका लागि काठमाडौँबाहिर गएपछि भेट हुन सकेको थिएन।
यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सर्वसम्मतिमा सम्भावित पदाधिकारीको सूची तय गर्न नसकिएको भन्दै जिम्मेवारीबाट हात झिकेको थियो।






