राजविराज, ७ चैत्र । आज देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी माध्यमिक शिक्षा परिक्षा (एसइई) दिदैछ ।
देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि ११ बजे सम्म एसइई सञ्चालन हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ ।
आजदेखि सुरु भएको एसइई यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।

वर्ष २०८० सालको एसइई परीक्षामा देशभरबाट ४ लाख ६४ हजार ७ सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २ सय ८६ जना बढेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
एसइईमा १५० जना सम्म परीक्षार्थी भएको केन्द्रमा १ जना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर १ जना निरीक्षक खटाईएको छ । ७५ जना भन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको बोर्डले जनाएको छ ।






