काठमाडौँ । ललितपुरको पुल्चोक र भैँसेपाटी क्षेत्रमा २ महिनासम्म प्रदर्शन तथा जुलुस गर्न निषेध गरिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले चैत ४ गतेबाट लागु हुने गरी दुई महिनासम्म पाँच जनाभन्दा धेरै मानिस भेला भएर धर्ना र अनसन लगायतका विरोध कार्यक्रम गर्न निषेध गर्ने आदेश गरेका हुन् ।
स्थानीय प्रशासन ऐन–२०२८ को दफा ६ को उपदफा (३) क बमोजिम विगतदेखिकै निरन्तरताको रूपमा सो आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ । स्थानीय प्रशासनले सो क्षेत्रमा भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम नगर्न भनेको छ ।
आदेशको उल्लंघन गरेर भौतिक सम्पत्ति नोक्सान भएमा आयोजकबाट नै क्षतिपूर्ति बापतको रकम असुल गरिने जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि काठमाडौँका विभिन्न स्थानमा भेला हुन र प्रदर्शन गर्न रोक लगाउने निर्णय गरेको थियो ।









