काठमाडौं । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको महाधिवेशन चैत १६, १७ र १८ गते काठमाण्डौंमा हुने भएको छ ।
सो संगठनको आज बसेको बैठकले चैतमा महाधीवेशन गर्ने निर्णय गरेको हो ।
राप्रपाको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन गर्न बॅाकी रहेका पार्टीको भातृ संगठनबरुको महाधिवेशन चैत मसान्तसम्म सम्पन्न गर्ने निर्देशनात्मक निर्णय गरेको छ । पार्टीको निर्णय अनुसार सबै भातृ संगठनहरु महाधिवेशनको आन्तरिक तयारीमा जुटिरहेको, बैठक र छलफलहरु भइरहेको संयोजित संगठन विभागका प्रमुख, प्रवक्ता गोपाल दाहालले बताएका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशन गर्न बॅाकी रहेका भातृ संगठनको महाधिवेशन समयमै सम्पन्न गर्न निर्देशन दिने गरेका छन् । उनी स्वयं पनि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका संस्थापक अध्यक्ष हुन् ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विधानले निर्दिष्ट गरेको प्रावधान अनुरुप आफ्नो महाधिवेशन गर्न हरेक हिसाबले तयार हॅुदै गएको संगठनका संयोजक अधिवक्ता सुजित केसीले बताएका छन् । अहिलेसम्म ३९ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको, केही जिल्लामा अधिवेशनको मिति टुंगो लागिसकेको र बॅाकी जिल्लाको अधिवेशन पनि फागुनको तेश्रो हप्तासम्म सम्पन्न गर्ने लक्ष्यका साथ हामी काम गरिरहेका छौं, केसीले भने ।
हिन्दुराष्ट्र र राजसंस्थाको पुन:स्थापना र वैकल्पिक राजनीतिको पक्षधर रहेका युवालाई समेट्दै राप्रपालाई युवामय पार्टी बनाउने लक्ष्यका साथ तल्लो तहदेखि संगठनको अधिवेशन भइरहेको छ, केसीले भने । निर्धारित समयमा संगठनको महाधिवेशन गर्ने र राप्रयुसंलाई देशभक्त राष्ट्रवादी युवाहरुको प्रमुख संगठन बनाउने केसीले बताए ।







