राजविराज, माघ । मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले देशको धरोहरको रुपमा रहेका माघी तथा विभिन्न जातजातिको संस्कृति संरक्षणमा प्रतिबद्धता व्यक्त गरेका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका ९ स्थित बसबलपुरमा आयोजित १३ औं दुइदिने माघी महोत्सव उद्घाटन गर्दै मन्त्री यादवले यस्तो प्रतिबद्धता व्यक्त हुन् ।

शम्भुनाथ नगरपालिका ९ वडा कार्यालयको सहयोग तथा माघी महोत्सव समिती बसवलपुरको आयोजना एवम् थाकस वडा समितिको संयोजनमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपालमा विभिन्न जाति समुदायले मनाउने पर्वले राष्ट्रको गौरव उच्च बनाएको बताए । संस्कृति संरक्षणमा थारु समुदायको ठूलो योगदान रहेको चर्चा गर्दै उनले कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

उनले थारु समुदायको साँस्कृतिक पर्व माघीसहित विभिन्न जातजातिले मनाउने चाडवाड संरक्षण तथा जगेर्नामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । तेह्रौं पर्षसम्म निरन्तर माघी महोत्सव आयोजना गरेकोप्रति आयोजकको प्रशंसा गर्दै उनले महोत्सव आयोजना गरिएको चौरमा मञ्च निर्माणसहित चौरको व्यवस्थापन गर्ने उद्घोष गरे ।
मन्त्री यादवले बसबलपुरसहित शम्भुनाथ नगरपालिकाको लागि १ करोडबढी पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको बताउँदै शम्भुनाथको समग्र विकासका लागि स्थानीय सरकारसंग समन्वय गरेर अगाडि बढ्ने बताए ।
थारु कल्याणकारिणी सभा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का सभापति सिम्रीतलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले सप्तरीका अध्यक्ष एवम् संविधानसभा सदस्य ताराकान्त चौधरी, युनिस्को शिक्षा विज्ञ सदस्य विनोद कुमार चौधरी, पत्रकार महासंघ सप्तरीका सदस्य वृजमान तामाङ, स्थानीय शिक्षक दिपेन्द्र कुमार चौधरीलगायतले समेत शुभकामना मन्तव्य व्यक्त गरे ।

थारु नेता पूर्णप्रसाद चौधरी र स्थानीय अम्विका चौधरीद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा धर्मोदय सभा सप्तरीका अध्यक्ष महेश प्रसाद चौधरीले बुद्ध वन्दना वाचन गरे ।
‘थारु संस्कृति के संरक्षण सम्बर्द्धन या प्रबर्द्धन मे हमर सभके अभियान,समानुपातिक समावेशी पहुँच के लेल सम्पूर्ण थारु समुदाय के आव्हान’ भन्ने मुल नाराकोसाथ आयोजित कार्यक्रममा थारु पौराणिक गीत प्रस्तुत गर्नुको साथै थारु पहिरनसहित थारु परिकार तथा पकवानहरु प्रदर्शनी गरिएको थियो ।

बुधबारसम्म आयोजना हुने महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति तथा थारु खानपिनसहितको विभिन्न स्टलहरु समेत राखिएको आयोजक समितिले जनाएको छ ।






