नेकपा एमालेबाट निस्कासित भएका नेता डा. भीम रावलले गैरकम्युनिष्ट पार्टी बनाउने बताएका छन्।
सोमबार उनलाई निवासमै भेट्न पुगेका सदूरपश्चिमका प्रदेश सांसद डा. तारा जोशी र कांग्रेस विपी पार्टीका नेता कर्ण मल्लसँगको भेटमा उनले सो कुरा खुलाएका छन्। डा. रावलले आफूले देशव्यापी संगठन विस्तार गरेर नयाँ पार्टी बनाउने भन्दै मिलेर जाने प्रस्ताव समेत राखेका छन्।

कांग्रेस पृष्ठभूमि र अन्य राजनीतिक दलबाट आउने नेताहरुलाई समेत मान्य हुने पार्टीको नाम राख्ने रावलको भनाई रहेको डा. जोशीले जानकारी दिए। ‘उहाँले नयाँ पार्टी बनाउने निश्चित भइसकेको छ,’ डा. जोशीले भने, ‘कम्युनिष्ट नाम नभएको पार्टी हुन्छ, अब कम्युनिष्ट नाम राख्दिन गैरकम्युनिष्ट नै नाम हुन्छ भन्नुभयो।’
रावलले पाँच दशक एमालेमा विताएका थिए। तर, केहीदिनअघि बसेको सचिवालय बैठकले उनलाई संगठित सदस्य नरहनेगरी कारवाही गरेको छ। कारबाहीपछि रावलले देशभरका नेता/कार्यकर्तासँग छलफल गरेर नयाँ पार्टी खोल्ने तयारी गरेका हुन्।
उनले बुधबार पार्टीको नाम घोषणा गर्नसक्ने सम्भावना छ। ‘मैले पर्सी कार्की पार्टी प्यालेसमा पत्रकार सम्मेलन राखेको छु, म त्यहीँ सबै कुरा भन्छु,’ रावललले भने।






