काठमाण्डौ । समाजसेवी इन्जिनियर सूर्यनारायण यादव सहित १० जना विशिष्ट व्यक्तित्व सम्मानित भएका छन् । हेल्प नेपाल नेटवर्कको २५ औं स्थापना दिवस (रजत जयन्ती)को अवसरमा राष्ट्रिय सभा गृहमा शनिबार आयोजित एक समारोहका वीच उनीहरुलाई सम्मान गरिएको हो ।
हेल्प नेपाल नेटवर्क नेपाल च्यापटरका अध्यक्ष अरुण सिंह बस्नेतको अध्यक्षता तथा विश्वविख्यात नेत्र विशेषज्ञ डा. सन्दुक रुईतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा धर्नीहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष समाजसेवी इन्जिनियर यादव, मुटु रोग विषेशज्ञ डा. भगवान कोईराला,पुर्व अर्थमन्त्री शंकर कोईराला, मानव सेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारी,अपाङ्गता भएएका व्यक्तिहरूको लागि विशेष विद्यालय संचालन गरेकी सबिता उप्रेती,पुर्व अर्थ सचिव रामेश्वर खनाल,डा उपेन्द्र महतो, हेल्प नेपाल नेटवर्क अस्ट्रेलिया च्यापटरका अध्यक्ष डिला खरेल तथा महासचिव हर्ष गौतमलाई फुलमाला तथा सम्मान- पत्रकारद्वारा सम्मान गरिएको थियो ।
आ-आफ्नो क्षेत्रबाट समाजसेवामा अतुलनीय योगदान गरेकाले उनीहरुलाई सम्मान गरिएको हेल्प नेपाल नेटवर्क नेपाल च्यापटरका अध्यक्ष अरुण सिंह बस्नेतले बताए ।
कार्यक्रममा डा. भगवान कोईराला, पुर्व अर्थ मन्त्री शंकर कोईराला,हर्ष गौतम, लीला खरेल, सविता उप्रेती,सुशिला केसी, रामजी अधिकारी, डा उपेन्द्र महतो लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा स्वागत तथा संचालन हेल्प नेपाल नेटवर्ककी महासचिव डा. लता घिमिरेले गरेकी थिइन् ।
संस्थाको शुरुआत बेलायतबाट बिबिसी नेपाली सेवामा कार्यरत रविन्द्र मिश्र लगायतबाट भएको थियो भने हाल यसका शाखाहरु अस्ट्रेलिया, इजरायल,बेलायत,क्यानाडा, अमेरिका,रूस, ईरान लगायत नेपालीहरू रहेका विश्वका विभिन्न देशहरूमा छन्। विदेशमा रहेका नेपालीहरूले प्रत्येक महिना कम्तीमा १ डॉलर नेपालमा सामाजिक विकासको लागि दान दिएर यो संस्था संचालन गरिरहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।







