बाराको सिमरा विमानस्थलमा कार्यरत प्रहरी कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यापछाडि युवतीका कारण सिर्जित रिसइबी र लुटपाट कारण रहेको तथ्य फेला परेको छ ।

इलाका प्रहरी कार्यालय सिमराले गरेको अनुसन्धानबाट यो तथ्य फेला परेको हो । सिमरा उपमहानगरपालिका– ११ स्थित सडक छेउमा रोकिराखेको कारभित्र रुम्बाको शव फेला परेपछि प्रहरीले विस्तृत अनुसन्धान थालेको थियो ।
पोस्टमार्टमका क्रममा रुम्बाको टाउकोभित्र गोली फेला पर्दा उनको हत्या गोली प्रहारबाट भएको पुष्टि भएको थियो । रुम्बाको शव फेला परेको बागमती प्रदेश ०१–०२८–च–७६१६ नम्बरको कार राष्ट्रिय अनुसन्धान विभाग (राअवि)का इन्स्पेक्टर श्रीकान्त तिवारीको थियो ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा तिवारीसहित जीतपुर सिमरा उपमहानगरपालिका– १ मा ‘माँ इन्जिनियरिङ वर्कशप’ सञ्चालन गरी बस्ने पुरुषोत्तम कुमार दास र सोही ठाउँका इन्द्रजितकुमार चौहानलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले आइतबार घटना सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

अनुसन्धानका क्रममा रुम्बाले लगाएको सुनको सिक्री दासको पाइन्टको खल्तीबाट बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै, रुम्बाको मनी पर्स समेत दासकै ब्यागबाट बरामद भएको छ ।

बाराका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार खड्काका अनुसार घटनामा राअविका इन्स्पेक्टर तिवारीको प्रत्यक्ष संलग्नता नभएपनि उनकै कारमा रुम्बाको शव फेला परेको र परिवारले उनको नामसमेत जोडेर किटानी जाहेरी दिएकाले पक्राउ गरिएको हो ।

यसरी बन्यो रुम्बाको हत्या योजना

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार दास र रुम्बाले एउटै युवतीलाई मन पराउँथे ।

दासले रुम्बालाई ती युवतीको पछाडि नलाग्न र नभेट्न पटक–पटक चेतावनी दिँदै आएको खुलेको छ ।

तर, रुम्बाले दासको चेतावनीलाई ख्यालख्याल सम्झिए । पटक–पटकको चेतावनी रुम्बाले नटेरेपछि दासले उनको हत्या गर्ने योजना बनाएको खुलेको छ । यसैक्रममा उनले पेस्तोलको जोहो गरेको देखिन्छ ।

पुस ६ गते बिहान रुम्बाले राअविका इन्स्पेक्टर तिवारीको गाडी लिएर हिँडेको सुइँको दासले पाए ।

रुम्बालाई फोन गरेर आफूहरू पनि कलैया जाने बताए । रुम्बाले दास र चौहानलाई सिमराबाटै रिसिभ गरे । दासले बीच बाटोमा पुगेपछि शौच गर्न भन्दै कार रोक्न लगाए ।

त्यतिबेलै दासले रुम्बालाई गाडी भित्रै गोली हानेको देखिन्छ । त्यसपछि रुम्बाले घाँटीमा लगाएको सिक्री र मनी पर्स लुटेको खुलेको छ ।

टाउकोमा गोली लागेका रुम्बाको कारभित्रै मृत्यु भयो । बिहानको समयमा कार धेरैबेर सडक छेउमा रोकेको देखेपछि ९ः१५ मा स्थानीयले चेक गर्दा भित्र रुम्बा मृत अवस्थामा फेला परेका थिए । लगत्तै प्रहरीलाई खबर भयो ।

इलाका प्रहरी कार्यालय सिमराको टोली पुगेर शव पोस्टमार्टमका लागि अस्पताल पठायो । अनुसन्धान गर्दै जाँदा रुम्बा प्रहरीको कार्यालय सहयोगी भएको र सिमरा विमानस्थलमा कार्यरत रहेको तथ्य फेला पर्‍यो ।

प्रहरीले रुम्बाको कल डिटेल हेर्दा एक युवतीसँग लगातार फोन सम्पर्क भएको भेट्यो । ती युवतीसँग सोधपुछ गर्दा मात्रै थाहा भयो, रुम्बा र दास दुवैले एकै युवतीलाई मन पराउने रहेछन् ।

ती युवतीकै सूचनामार्फत प्रहरीले दासलाई नियन्त्रणमा लिएको थियो ।

दाससँगै गाडीमा चौहान पनि चढेको र घटनामा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि प्रहरीले चौहानलाई पक्राउ गरेको थियो ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर