राजविराज,८ पुस । सप्तरी प्रहरीले ठुलो परिणाममा लागूऔषध गाँजा धमाधम बरामद गर्न थालेको छ। यसअघि विभिन्न ठाउँबाट गाँजा पक्राउ गरेका सप्तरी प्रहरीले पुनः ठूलो परिणाममा गाँजा नियन्त्रणमा लिएको हो ।
सप्तरीका प्रहरी प्रबक्ता तथा सूचना अधिकारी डिएसपी जितेन्द्र कुमार बस्नेतले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै १ सय किलो लागूऔषध गाँज बरामद गरेको जनाएका छन् । पुस ४ गते सप्तरीको बलान विहुल गाउँपालिका वडा नम्बर ६ शेहरा भन्दा १ किलो मीटर पूर्व नेपालबाट भारततर्फ अबैध रुपमा लुकाई छिपाई लादै गरेको अवस्थामा गाँजा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
टाँउकोमा बोराहरु बोकी लादै गरेको अवस्थामा प्रहरी टोलीलाई देखनासाथ बोराहरु सोही स्थानमा छोडी मानिसहरु भारततर्फ भागेको प्रहरीले जनाएको छ । बोरा खोली चेकजाँच गर्दा सो बोरा भित्र १ सय किलो लागूऔषध गाँजा बरामद भएको र उक्त गाँजा नियन्त्रणमा लिइ आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको डिएसपी बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 
यसअघि प्रहरीले राजगढ गाउँपालिकाबाट १७ क्वीन्टल, कञ्चनरुप तथा जिल्लाको विभिन्न स्थानबाट ठूलो परिणाममा गाँजा नियन्त्रणमा लिएका थिए । एसपी खतिवडा र डिएसपी बस्नेतले जिम्मेवारी सम्हालेपछि अबैध लागूऔषध गाँजा धमाधम पक्राउ पर्न थालेका छन् ।







