नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को दुई दरबन्दी एक साताभित्र रिक्त हुने भएको छ। एआईजी भीमप्रसाद ढकाल र केदार ढकाल अवकाश हुन लागेका हुन्।
केदार मंसिर २२ गते र भीमप्रसाद २८ गते अनिवार्य अवकाश हुनेछन्।

एआईजीमा बढुवा भएको एक महिना पनि नहुँदै केदार ढकाल अवकाश हुन लागेका हुन्। उनलाई मंसिर ६ गते एआईजीमा बढुवा गर्ने निर्णय भएको थियो। बढुवापछि उनको प्रदेश समन्वय विभागमा पदस्थापन भएको छ।
तर एआईजीको ५६ वर्षे उमेर हदका कारण केदार ढकाल अवकाश हुन लागेका हुन्। उनी प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याची हुन्। ३० वर्षे सेवा अवधि आगामी चैत ५ गते मात्रै पुग्ने भए पनि उनी त्यसअघि नै अवकाश हुन लागेका हुन्।
अवकाशमा जान लागेकै कारण सरकारले वरीयता मिचेर उनलाई एआईजीमा बढुवा गरेको थियो।
यस्तै मानव स्रोत विकास विभागका एआईजी भीम ढकाल पनि उमेर हदकै कारण अवकाश हुन लागेका हुन्।
३० वर्षे सेवा अवधि पूरा हुन ९ महिनापहिले नै उनी अवकाश हुन लागेका हुन्। ढकाल एआईजी दीपक थापाका ब्याची हुन्।
सिंह र बोहरालाई एआईजीमा बढुवा गर्ने तयारी
ढकालद्वयको अवकाशपछि रिक्त हुने एआईजीमा दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गर्ने सरकारको तयारी छ। केदार ढकाललाई एआईजी बनाउनका लागि यसअघि सिंहलाई छुटाइएको थियो।
ढकाल अवकाशमा जाने भएकाले उनलाई बढुवा दिन दुर्गा सिंह र कुवेर कडायत अगाडि भए पनि बढुवा भएका थिएनन। तर यसपटक सिंहलाई एआईजीमा बढुवा गर्ने तयारी छ। सिंह हाल गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुख छिन्।
तर कडायत भने यसपटक पनि एआईजी बन्ने सम्भावना कम छ। अब रिक्त हुने एआईजीमा भरतबहादुर बोहरालाई बढुवा गर्ने तयारी छ। हाल उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख रहेका बोहरा पनि अवकाश हुन लागेका छन्। उमेर हदका कारण पुस १४ गते उनी अनिवार्य अवकाश हुनेछन्। उनी अवकाश भएपछि मात्रै कुवेर कडायतलाई एआईजी बनाउने सरकारको तयारी छ।
पुस १६ गते अर्को पनि एआईजीको दरबन्दी खाली हुनेछ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी किरण बज्राचार्य पनि अनिवार्य अवकाश हुनेछिन्। बज्राचार्य र बोहरा अवकाश भएपछि फेरि कडायतसहित दुईजना एआईजीमा बढुवा हुनेछन्।
प्रहरी महानिरीक्षक कुँवरले आफ्ना ब्याचीलाई सकेसम्म बढुवा गर्ने नीति लिएका छन्। यसअघि किरण राणा २ दिनका लागि एआईजी भएकी थिइन्। उनलाई अवकाश हुने अघिल्लो दिन मात्रै एआईजीमा बढुवा गरिएको थियो।
एसएसपीबाट डीआईजीमा पनि आईजीपीका ब्याची नै तानिएका छन्। यसअघि उनीहरुलाई छुटाइएको थियो। हालै डीआईजीमा बढुवा भएका ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द उनकै ब्याची हुन्।






