राजविराज । मधेश प्रदेश सरकार शिक्षा नीतिमा कमजोर रहेको राजविराजमा बुधबार आयोजित एक कार्याशलामा सहभागी बक्ताहरुले बताएका छन् ।
नेपाल बौद्धिक प्रतिष्ठान जनकपुरघामद्वारा आयोजित शिक्षा नीति निर्माण प्रक्रिया मार्फत मधेस प्रदेशको मधेस विश्वविद्यालय तथा मधेश कृषि विश्वविद्यालयको बैधानिकता मार्फत सवलीकरण सम्बन्धि कार्याशालामा सहभागी बक्ताहरुले यस्तो बताएका हुन् ।

विश्वविद्यालयवारे जानकारी दिदै मधेश कृषि विश्वविद्यालय राजविराजका उपकुलपति डा.बैधनाथ महतो
कार्यक्रममा बोल्दै बक्ताहरुले विकास र समृद्धिको आधार शिक्षा भएको भन्दै शिक्षामा लगानी विना समृद्धिको आकांक्षा पूरा नहुने जिकिर गरे । प्रदेशमा चाँडै शिक्षा नीति ल्याएर मधेश प्रदेशका विश्वविद्यालयहरुलाई सवलीकरण गर्नुपर्नेमा जोड दिदै बक्ताहरुले समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिए ।
मधेशमा शिक्षा नीति ल्याउने अन्तिम तयारीमा छ तर मुर्तरुप अझै लिन नसकेको भन्दै बक्ताहरुले बजेट अभावका कारण विश्वविद्यालयका सम्पुर्ण कामकाज प्रभावित भएको गुनासो गरे ।


प्रदेश सरकारले मधेश प्रदेशका विश्वविद्यालयहरुमा न्यून बजेट विनियोजन गरेको उल्लेख गर्दै उनीहरुले सरकारले शिक्षालाई विकास र समृद्धको आधार नमान्दा शिक्षा क्षेत्र धारासायी भएको टिप्पणी गरे ।
राष्ट्रको विकास र समृद्धिको आकांक्षा पूरा गर्न शिक्षामा लगानी गर्नुको विकल्प नरहेको उनीहरुको भनाइ थियो ।
नेपाल बौद्धिक प्रतिष्ठानका अध्यक्ष विष्णु कुवरको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्वमन्त्री उमेश कुमार यादव, राष्ट्रिय सभाका पूर्व सदस्य सुमनराज प्याकुरेल, पूर्व न्यायाधीश रमेश थापा, मधेस विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्य, मधेश कृषि विश्वविद्यालय राजविराजका उपकुलपति डा.बैधनाथ महतो, उच्च अदालत वार एशोसिएसन राजविराज–जनकपुरका अध्यक्ष हरेराम यादव जसपा नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, नेकपा एमालेका सचिब देवनाथ यादव, डा. सूर्य प्रसाद यादव, इन्जिनियर प्रमोद राणा, पत्रकार देवराम यादव, नवीन नसिंह नेपाली लगायतकाले विचार व्यक्त गरे । 
कार्यक्रममा नेपाल बौद्धिक प्रतिष्ठानकी टिम लिडर राखी कुमारी झाले कार्यक्रमको उदेश्य बारे प्रकाश पारेकी थिएन भने मधेस कृषि विश्वविद्यालय राजविराजका रजिस्टार डा. श्रीभगवान ठाकुरले मधेशका विश्वविद्यालयहरुको सबलीकरण गर्न आवश्यक कार्ययोजनासहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपाल बौद्धिक प्रतिष्ठानकी कोषाध्यक्ष पुनम साहद्वारा संचालित कार्यक्रममा स्वागत सदस्य श्यामसुन्दर सिंहले गरे ।
कार्यशाला गोष्ठीमा राजनीतिक दलका प्रतिनिधि, विश्वविद्यालयका प्रतिनिधि,विभिन्न क्ष्रेत्रका बौद्धिक व्यक्तित्वहरु, प्राध्यापक, अधिबक्ता, पूर्व कर्मचारीहरु,विश्वविद्यालयका पदाधिकारी तथा सरोकारवालाहरुको उपस्थिति थियो ।

कार्यपत्र प्रस्तुत गर्दै मधेश कृषि विश्वविद्यालयका रजिष्टार डा.श्रीभगवान ठाकुर ।






