प्रधान सेनापति अशोकराज सिग्देल मंसिर अन्तिम साता भारत भ्रमणमा जाने भएका छन्।
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको निमन्त्रणामा प्रधान सेनापति सिग्देलले मंसिर २६ देखि २९ मा दक्षिणी छिमेक भारतको भ्रमण गर्ने तय भएको सैनिक मुख्यालयले जनाएको छ।

भ्रमणका क्रममा उनले भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्नेछन्। उनलाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ।
नेपालले भारतको र भारतले नेपालको सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्या दिने परम्परा छ।
भारत भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको छ।
सो अवसरमा प्रधान सेनापतिले भारतका उच्च पदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्नुका साथै इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रमसमेत रहेको सैनिक मुख्यालयले जानकारी दिएको छ।







