देशभर क्रमशः तापक्रम घट्दै गएको छ भने चिसो बढ्दै गएको छ। यसै क्रममा आज (मंगलबार) बिहान जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको सूचीअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ४ डिग्री सेल्सियस देखिएको हो।

यसपछि आज बिहान सबैभन्दा कम न्यूनतम तापक्रम डडेल्धुरामा ५.९ डिग्री सेल्सियस छ। महाशाखाको विवरणअनुसार तेस्रो नम्बरमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.९ डिग्री सेल्सियस छ। यो काठमाडौँका लागि यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो। हेर्नुहोस् देशभरको तापक्रम सूची (नोट: न्यूनतम आजका हुन् भने अधिकतम हिजोका) प्रस्तुत तापक्रम विवरण मौसम महाशाखाका मापन केन्द्र (स्टेसन) भएका स्थानका मात्र हुन्। त्यस आधारमा चिसोमा काठमाडौँ तेस्रो नम्बरमा देखिएको हो।
मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। त्यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र आउनेछ।
अहिले नेपालमा पोस्ट मनसुन सिजन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ। डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ। हिउँदयाम नजिकिँदै गरेकाले देशभर चिसो बढ्दै गएको हो।






