काठमाडौं । ललितपुरको मेडिसिटी अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै पाँच करोड क्षतिपूर्तिसहित कारबाहीको माग गरिएको छ ।
काठमाडौंको वनस्थलीका प्रताप रिमालले अस्पतालको चरम लापरबाहीका कारण ६२ वर्षीय बुवा ज्ञानप्रसाद रिमालको मृत्यु भएको भन्दै अस्पताल र उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गरेका हुन् ।

अस्पताल र चिकित्सकले उपचारमा भएको गम्भीर लापरबाही र गल्ती ढाकछोपका लागि गम्भीर झुट बोलेको उनको अरोप छ । घटनाबारे रिमालले जिल्ला अदालत ललितपुरमा मुद्दासमेत दायर गरेका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै उनले घटनाको फेहरिस्त यसरी सुनाए :
बुबाको उपचारमा मेडिसिटीले चरम लापरबाही गरेकाले आफूहरू अस्पतालविरुद्ध कानूनी उपचारमा गएको प्रतापको भनाइ छ । “आईसीयूमा रहेको बिरामीलाई लापरबाही गर्ने र आफ्नो गल्ती ढाकछोप गर्न झुट बोल्ने अस्पतालविरुद्ध हामी अहिले अदालती प्रक्रियामा गएका छौँ,” उनले भने ।
ललितपुर जिल्ला अदालत र नेपाल मेडिकल काउन्सिलमा उपचारमा संलग्न डाक्टरलाई कारबाही गरी पीडित पक्षलाई पाँच करोड क्षतिपूर्ति उपलब्ध गराउने मागसहित मुद्दा दर्ता गराएको उनले जानकारी दिए ।
घटना दबाउनका लागि मेडिसिटी अस्पताल लागिपरेको पनि उनको दाबी छ । प्रतापले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “घटना साम्य पार्नकै लागि अस्पतालले बुवाको उपचारको क्रममा भएको ८ लाख रुपैयाँ पनि फिर्ता गरिसकेको छ । तर, अस्पतालले गरेको गल्ती र गल्ती ढाकछोप गर्न हामीमाथि बोलेको धावाविरुद्ध हामी जस्तोसुकै परिस्थिति पनि लडाइँ लड्ने अठोट लिएका छौँ ।”






