सहकारी ठगी सम्बन्धमा अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लमिछानेलाई शुक्रबार मध्यराति (शनिवार बिहान पौने ३) बजे पोखरा पुर्‍याइयो ।
पोखरा पुगेर शुरूमा उनको स्वास्थ्य जाँच भयो । त्यसपछि हिरासतमा राखिएको छ ।

शुक्रबार साँझ पौने ७ बजे पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरिएका लामिछानेलाई स्थलमार्गबाट पोखरा लगिएको थियो ।
चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद तालिम प्रशिक्षण केन्द्रमा केहीबेर चियाखाजाका लागि रोकियो ।

प्रहरी स्रोतका अनुसार त्यहाँ उनले चाउचाउ र चिया खाएका थिए । त्यहीँ लामिछानेले प्रहरीसँग एउटा जिज्ञासा राखे– ‘कास्की प्रहरीको हिरासतमा उडुस छ कि छैन ?’

‘पहिले चितवनमा उडुसले सुत्न दिएको थिएन, पोखरामा त त्यस्तो छैन नि ?’ रविले सोधे ।

कास्की लैजाँदै गरेको प्रहरीले कास्की प्रहरीसँग सोधेर जवाफ दियो, ‘छैन हजुर ।’

लामिछानेले आफूलाई अरू थुनुवासरह हिरासतमा राख्न प्रहरीलाई आग्रह गरे ।

‘भीआईपीहरू पक्राउ परेपछि हिरासत छलेर अस्पतालमा बस्ने गरेका थिए । त्यसको मैले विरोध गरेको हुँ । मलाई सर्वसाधारण जस्तै हिरासतमै राख्नू,’ लामिछानेले प्रहरीलाई भनेका थिए ।

उनले आफूलाई पूर्व गृहमन्त्रीको जस्तो व्यवहार नगर्न आग्रह गरेका थिए ।

‘तपाईंहरूप्रति मेरो कुनै गुनासो छैन, माथिको आदेश पालना गरेको हो, मलाई सर्वसाधारणसरह व्यवहार गरे हुन्छ,’ लामिछानेको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकारीले लोकान्तरसँग भने । उनले प्रहरीले दिएको सामान्य खाना खाएका छन् ।

सहकारी ठगीको एउटै मुद्दामा पक्राउ परेका प्रहरीका पूर्व डीआईजी छविलाल जोशी र लामिछानेलाई फरक–फरक कोठामा राखिएको छ । यसअघि जोशीले गोरखा मिडिया नेटवर्कको रकम खर्च गर्नमा रवि लामिछाने र जीबी राईको हात रहेको भन्दै आफूलाई केही थाहा नभएको प्रहरीसँगको बयानमा बताएका छन् ।

रविले आफूलाई भेट्न आउनेलाई भेट्न दिन प्रहरीसँग आग्रह गरेका थिए । शनिबार बिहानदेखि प्रहरी हिरासतमा रहेका लामिछानेलाई रास्वपा उपसभापति डोरप्रसाद अर्याललगायतका नेताहरूले आइतवार बिहान भेट गरेका छन् ।

लामिछानेलाई म्याद थपका लागि आइतबार जिल्ला अदालत कास्की लैजाने तयारी गरिएको छ । गत असोज ६ गते पक्राउ परेका जोशीलाई २० दिनको म्याद थपिएको थियो ।

लामिछानेको पक्राउविरुद्ध प्रदर्शनको तयारी भएपछि पोखरामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । आइतबार रवि पक्राउको विरोधमा उनका समर्थकले पोखरामा प्रदर्शनको तयारी गरेका छन् ।

कास्कीका सहकारी पीडितले पनि छुट्टै प्रदर्शनको तयारी गरेका छन् । कास्कीको सूर्यदर्शन सहकारीको रकम हिनामिनाको अनुसन्धानका लागि रविलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर