काठमाडाैं,२७ असोज । खानेपानी मन्त्रालयले मन्त्रालय मातहतका विभाग,आयोजना तथा निकायहरूमा ठूलो संख्यामा प्राविधिक जनशक्ति करारमा नियुक्त गर्ने तयारी गरेको छ ।
इन्जिनियर, माइक्रोबायोलोजिस्ट, हाइड्रोलोजिस्ट, केमिष्टदेखि कम्प्युटर अपरेटरसम्मका पदमा मन्त्रालयले ठूलो संख्यामा करारमा नियुक्ति गर्ने तयारी गरेको हो ।

खानेपानी मन्त्रालयको प्रशासन महाशाखा प्रमुख समेत रहेका सहसचिव रामबाबु पुरीका अनुसार सेवा करारमा प्राविधिक जनशक्ति छनोट गर्नका लागि मन्त्रालयले कार्यविधि समेत बनाइसकेको छ ।

‘हामीले कार्यविधिको मस्यौदा तयार पारिसकेका छौं, तर त्यो अहिले छलफलकै चरणमा छ,’ पुरीले भने, ‘दशैं बिदा सकिएपछि मन्त्रालयले उक्त कार्यविधि स्वीकृत गरेर विभिन्न प्राविधिक पदका लागि सूचना प्रकाशन गर्छ ।’

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग र विभाग मातहतका विभिन्न आयोजनाहरूका लागि ती प्राविधिक जनशक्ति करारमा छनोट गर्ने मन्त्रालयको तयारी छ ।
तर, कुन–कुन निकायका लागि कुन–कुन पदमा कति जनशक्ति छनोट गर्ने भन्ने कुरा अहिले नखुलेको पुरीले बताए । ‘विभागले विभिन्न निकायमा रिक्त दरबन्दीको संख्या माग गरेर यकिन भएपछि सोहीअनुसार सूचना प्रकाशन हुन्छ,’ उनले भने ।

सिधै अन्तर्वार्ताबाट छनोट गरिने

खानेपानी तथा ढल व्यवस्थापन विभाग र अन्तर्गतगका आयोजनाहरूका लागि विभागका उपमहानिर्देशकको संयोजकत्वमा छनोट समिति गठन हुने कार्यविधिको मस्यौदामा उल्लेख छ ।

सेवा समूहसम्बन्धी क्षेत्रका विज्ञ सदस्य रहने तथा विभागका कर्मचारी प्रशासन शाखाका प्रमुख (उपसचिव) सदस्य सचिव रहने कार्यविधिमा उल्लेख छ ।

त्यसैगरी, खानेपानी मन्त्रालयअन्तर्गतका निकायका लागि सम्बन्धित निकायको प्रमुख (सहसचिव) आफैं वा उनले तोकेको व्यक्तिको संयोजकत्वमा छनोट समिति गठन हुने उल्लेख छ ।

छनोट समितिले शैक्षिक योग्यता र अन्तर्वार्तालाई आधार मानेर छनोट गर्नेछ ।

इन्जिनियर, माइक्रोबायोलोजिस्ट, हाइड्रोलोजिस्ट केमिष्टको हकमा २१ वर्ष पूरा भई दरखास्त दिने अन्तिम दिनसम्म ३५ वर्ष ननाघेको हुनुपर्छ ।

महिलाको हकमा भने ४० वर्षको उमेरसम्मका लागि दरखास्त दिन पाउनेछन् ।

छनोटका लागि विभिन्न चरणमा लिइने परीक्षण विधिको कुल पूर्णाङ्क १ सय रहने कार्यविधिमा प्रस्ताव गरिएको छ, जसमध्ये शैक्षिक योग्यताबापत ५० र अन्तर्वार्ताबापत ५० अंक राखिएको छ ।

छनोट समितिले शैक्षिक योग्यताको मूल्यांकनका आधारमा मूल्यांकन गर्दा न्यूनतम् ४५ अंक वा सोभन्दा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरू मध्येबाट माग संख्याको बढीमा दोब्बर उम्मेदवार छनोट गरी २१ दिनभित्र योग्यताक्रममा आधारित रही वर्णानुक्रम अनुसार संक्षिप्त सूची प्रकाशन गर्ने कार्यविधिमा उल्लेख छ ।

तर, माग पद संख्याको दोब्बर संख्या वा सो भन्दा कम मात्र छनौट भएमा योग्यता हासिल गरेका सबै उम्मेदवारहरू स्वतः संक्षिप्त सूचीमा समेटिएको मानिने कार्यविधिमा उल्लेख छ ।

त्यसैगरी, अन्तर्वार्तामा संलग्न कुनै मूल्यांकनकर्ताले ७० प्रतिशतभन्दा बढी र ४० प्रतिशतभन्दा घटी अंक प्रदान गरेमा आधार र कारण खुलाउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

‘त्यसरी प्रदान गरेको अंक ५० प्रतिशतभन्दा बढी मूल्यांकनकर्ताहरूले प्रदान गरेको भए मात्र मान्य हुनेछ । अन्यथा बढीमा ७० प्रतिशत र घटीमा ४० प्रतिशत नै अंक मानी गणना गरिनेछ,’ कार्यविधिमा उल्लेख छ ।

त्यसरी छनौट हुने प्राविधिक पदको पदावधि १ आर्थिक वर्षका लागि हुनेछ । नेपाल सरकारबाट अस्थायी दरबन्दी स्वीकृत भएमा र सम्पादित कार्य सन्तोषजनक रहेमा म्याद थप हुनेछ ।

सेवा करारमा रहेका त्यस्ता प्राविधिक जनशक्तिको मासिक पारिश्रमिक नेपाल सरकारको उक्त सेवा/समूह/उपसमूह/श्रेणी/पदका लागि तोकिएको शुरू स्केलबराबर रहने कार्यविधिमा उल्लेख छ । ‘त्यसबाहेक विभाग/आयोजनाले तोकेबमोजिमको अन्य सुविधाहरू समेत प्राप्त गर्नसक्नेछन्,’ कार्यविधिमा उल्लेख छ

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर