कोशी प्रदेशमा चाडपर्वलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ ।
चाडपर्वको रौनक शुरू हुँदै गर्दा उच्च सुरक्षा शतर्कता अपनाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीम दाहालले जानकारी दिए ।
चाडपर्वमा भीडभाड हुने ठाउँ, व्यापारिक प्रतिष्ठान, उद्योग कलकारखाना, मठमन्दिर, धार्मिकस्थल, वित्तीय संस्था, सुनचाँदी पसल र सार्वजनिकस्थलको सुरक्षा कडा पारिएको उनले बताए ।

‘चाडपर्वमा कार्यालयहरू बिदा हुन्छन् । ती कार्यालयको पनि विशेष सुरक्षाको व्यवस्था मिलाइएको छ,’ एसएसपी दाहालले भने, ‘त्यसबाहेक मानवीय चहलपहल धेरै हुने स्थानमा प्रहरीको विशेष टोली परिचालन गरिएको छ । आपराधिक पृष्ठभूमिका र शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाइएको छ ।’
उनले चाडपर्वको समयमा हुन सक्ने अवान्छित गतिविधि, जुवातास, कालोबजारी नियन्त्रण, खुला सीमा नाकाको कारण हुने चोरी/तस्करी, लागूऔषधको प्रयोग तथा ओसार पसार, आतिसबाजी तथा पटकाजन्य पदार्थहरूको ओसारपसारलाई नियन्त्रण गर्ने योजना रहेको उनले बताए ।
यो समयमा मानिसहरूको आवतजावत बढी हुने हुँदा यात्रुहरूको सहजताका लागि यात्रु सहायता कक्ष समेत स्थापना गरिएको उनले बताए । सवारी दुर्घटना हुन नपाउने गरी ट्राफिक व्यवस्थापन मिलाउन निर्देशन दिइसकिएको उनको भनाइ छ ।
चाडपर्वमा हुन सक्ने हत्या, अपहरण, चोरी, ठगी, महिला हिंसा, कुटपिट, डकैती, पाकेटमारी, स्न्याचिङ, लुटपाट, जुवा, अवैध मदिरा बिक्रीवितरण, आगजनी, विस्फोटक पदार्थ ओसारपसार, तस्करी, सवारी दुर्घटना, ठगी, ट्राफिक नियम उल्लंघनजस्ता घटना न्यूनीकरण गर्नु सुरक्षा योजनाको मुख्य उद्देश्य रहेको प्रहरीले जनाएको छ ।
प्रदेशभरिमा ८ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको उनले बताए ।
ठूलो आर्थिक कारोबार हुने सुन पसल, शपिङ मल र बैंकिङ क्षेत्रमा सादा पोशाकका प्रहरीमार्फत विशेष निगरानी बढाइएको छ ।
त्यसैगरी, सीमा क्षेत्रबाट हुने चोरी पैठारी–निकासी, लागूऔषधको कारोबार, भीडभाड हुने क्षेत्रमा सर्वसाधारणको धनमाल लुटिने र ठगिन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै प्रहरीले विशेष निगरानी गर्ने एसएसपी दाहालको भनाइ छ ।
जिल्लाहरूका विभिन्न स्थानमा नियमित चेक प्वाइन्ट ड्युटी (मापसे चेकिङसहित) राख्ने व्यवस्था मिलाइएको छ । साथै, विभिन्न स्थानमा ट्राफिकसहितको संयुक्त चेकिङ गरिने छ भने सीमा नाकाहरूमा चोरी तस्करी नियन्त्रण गर्नका लागि पनि प्रहरी परिचालन गरिनेछ ।
बजार क्षेत्र र राजमार्गहरूमा हुने गतिविधिलाई सहज बनाउन स्कर्टिङ र मोबाइल गस्तीको समेत व्यवस्था गरिएको छ । १४ वटै जिल्लामा यात्रु सहायता कक्ष स्थापना भएको छ ।
चाडपर्वलाई लक्षित गरी धरानमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीद्वारा कडाइका साथ जाँच समेत शुरू गरिएको प्रहरीले जनाएको छ ।






