राजविराज,२३भदौ ।
सप्तरीको रुपनी गाउँपालिका २ का प्रमोद राणालाई सप्तरी प्रहरीले झुठो मुद्दा लगाएर हिरासतमा राखेको भन्दै उनको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडि आइतबार विरोध प्रदर्शन गरिएको छ ।
मिटर व्याज विरुद्ध आन्दोलन केन्द्र सप्तरी र लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समिति सप्तरीको अगुवाईमा इन्जिनियर प्रमोद राणासहित पक्राउ परेकाहरुको रिहाईको माग राखी प्रहरी विरुद्ध विरोध प्रदर्शन गरिएको हो ।
“प्रमोद राणासहित आन्दोलनको क्रममा पक्राउ परेका महिलाहरुलाई रिहा गर,झुठो मुद्दा खारेज गर, प्रहरी प्रशासन मुर्दावाद, प्रमोद राणा हाइहाई” लगायतका नारा लगाउंँदै जिल्ला प्रहरी कार्यालय अगाडि १ घण्टा विरोध प्रदर्शन गरे ।
प्रहरी विरुद्ध चर्को नारा लगाउंँदै आन्दोलनकारीहरु जिल्ला प्रहरी कार्यालय प्रवेश गर्न खोजेपछि प्रहरीले मुख्य सडकमै रोकेका थिए । कडा सुरक्षा घेरा वीच मुल सडकमै प्रदर्शन गरेपछि सडक १ घण्टा पुर्ण रुपले ठप्प भएको थियो ।
मिटर व्याज तथा लगुवित्त तथा वित्तीय संस्था पीडितहरुलाई समर्थन गर्ने राणालाई प्रहरीले झुठो मुद्दा लगाएर फँसाएको तथा लघुवित्त तथा वित्तीय शोषण र मिटर व्याजी विरुद्ध संघर्षको आन्दोलनम सहभागी महिलाहरुको रिहाईको माग राखी विरोध प्रदर्शनमा उत्रिएको राष्ट्रिय स्वयंसेवक नेपालका केन्द्रीय अध्यक्ष मनोज पौडेलले बताए ।
उनले राणासहित पक्राउ परेका पीडित महिलाहरुलाई अविलम्ब निसर्त रिहाई नगरे देश व्यापी चक्काजामसहितको सशक्त आन्दोलनमा जाने चेतावनी दिए ।
घुस खाएर पिडकको प्रभावमा परी पीडितमाथि सप्तरी प्रहरीले दमन गर्दै आएको आरोप लगाउंँदै उनले प्रहरीले न्याय नदिए खोसेर लिने भन्दै आक्रोश व्यक्त गरे ।
विरोध कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्ला तथा उदयपुर जिल्लाका लघुवित्त तथा वित्तीय शोषण तथा मिटर व्याजी विरुद्ध संघर्ष समितिका पदाधिकारीसहित सयौंको संख्यामा महिलाहरु सहभागी थिए ।
गत भदौ २० गते जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका पीडित महिलाहरुमाथि अन्धाधुन्ध लाठीचार्ज गरेका थिए । प्रहरीले लाठीचार्ज गरेर पछाडि हटेका आन्दोलनकारीहरुले प्रहरीमाथि ढुङ्गामुढा बर्साउन थालेपछि प्रहरीले बलप्रयोग गरी आन्दोलनकारीहरुलाई धपाएका थिए । प्रहरीले लाठीचार्ज गर्नथालेपछि आन्दोलनकारी महिलाहरु तितरबितर भएका थिए । प्रहरीले पसल तथा गल्लीमा लुकेर बसेका आधादर्जन महिलाहरुलाई नियन्त्रणमा लिएका छन् ।
प्रहरीले आन्दोलनमा सहभागी भएको आरोपमा आधा दर्जन महिलाहरुलाई गिरफ्तार गरेको छ । गिरफ्तारीमा परेका महिलाहरुलाई प्रहरीले अहिलेसम्म छोडेको छैन ।
रुपनी गाउँपालिका २ का इन्जिनियर प्रमोद राणालाई प्रहरीले झुठो मुद्दा लगाएर पक्राउ गरेको आरोप लगाउंँदै मिटर व्याज पीडित तथा लगुवित्त पीडितहरुले जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने क्रममा भावना कुमारी चौधरी, लिला कुमारी चौधरी, नेमा चौधरी, श्यामवतो राम, सुरजी महतो, बलथीदेवी चौधरीसहित ७ जना आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिएका थिए ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर