
स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने ‘सुविधा थैली’ को सेवासुविधा परिमार्जन गरेको छ। बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले विज्ञहरूको सुझावअनुसार र बजारको अवस्था हेरी सुविधा थैलीको सेवा सुविधाको नयाँ दर कायम गरिएको बताए।
उनका अनुसार सुविधाको नयाँ थैली आगामी साउन १ गतेदेखि लागू गरिनेछ। उनले लामो समयदेखि एउटै दरमा उपलब्ध सेवासुविधालाई समयानुकूल परिमार्जन गरिएको बताए।

यसअघि आंशिक रूपमा परिमार्जन गरिए पनि यसपटक भने सबै सेवासुविधाको दर परिमार्जन गरिएको हो। नयाँ सुविधा थैलीमा स्वास्थ्य बिमाअन्तर्गत १ हजार २ सय ९० प्रकारका औषधि रहेका छन्। अस्पताल टिकट ५० रूपैयाँ तोकिएको छ।
शय्याको प्रतिदिन २ सय ५० रूपैयाँ राखिएको छ। यसअघि साधारण शय्याको २ सय थियो। स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ५ जनासम्मको परिवारका लागि ३ हजार ५ सय बराबरको योगदानका आधारमा एक लाख रूपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ।
थप प्रतिसदस्य ७ सयका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ।
स्वास्थ्य बिमा कार्यक्रमको अधिकतम सेवा सुविधाको सीमा २ लाखसम्म तोकिएको छ।
बिमा कार्यक्रममा कूल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार छ सय ७६ जना र कूल बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना (२६ दशमलव ५४ प्रतिशत) रहेको छ। रासस