
बारा, जेठ ३२ । बाराको मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भएको छ ।
क्याम्पस प्रमुख कुशवाहाको आज साँझ अज्ञात समुहले गोली हानी हत्या गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आदर्श कोतवाल गाउँपालिकाको खजुरिया निवासी कुशवाहाको आज साँझ अज्ञात समूहले प्रहार गरेको गोली लागेर ज्यान गएको छ ।

हत्यामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । आदर्शकोतवाल गाउँपालिका २ खजुरियाबाट सदरमुकाम कलैयातर्फ आउँदै गर्नुभएका कुशवाहामाथि वडा नं ३ स्थित भतिनिया क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गरेको थियो ।
गोली लागेर घाइते हुनुभएका कुशवाहालाई उपचारका लागि न्यूरो अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।