सरकारले विद्युतीय गाडीमा कर बढाएपछि केही कम्पनीले मूल्य बढाउँदै छन् भने केहीले अहिलेकै मूल्यलाई निरन्तरता दिने भएका छन्।
नेपालमा सरकारले विद्युतीय गाडीमा कर बढाएसँगै अहिले स्टकमा गाडी भएका कम्पनीले पुरानै मूल्यमा बिक्री गर्ने तय गरेका छन्। स्टकमा नरहेका कम्पनीले मूल्य बढाउने बताउँदै आएका छन्।

बजारमा करअनुसार नै मूल्य बढाउँदा महंगो हुने भएकाले गाडीको बिक्रीमा कमी आउन सक्ने व्यवसायी बताउँछन्। व्यवसायीले ठूला गाडीमा बढीमा ३ लाख रुपैयाँसम्म मूल्य बढ्ने बताएका छन्। कम्पनीहरुले उत्पादक कम्पनीसँगको छलफलमै मूल्य तय गर्छन्।
नेपालमा पेट्रोल गाडीको तुलनामा विद्युतीय गाडी महंगो भए पनि धेरै बिक्री भइरहेको छ। बैंकले ८० प्रतिशतसम्म ऋण सुविधा दिने र मर्मतसँगै नियमित खर्च जोगिने भएकाले बढी खरिद गरिरहेको व्यवसायी बताउँछन्।
आर्थिक विधेयकअनुसार सरकारले हाल मोटर पिकपावर ५० किलोवाटसम्म १० प्रतिशत भन्सार महशुल रहेकोमा अन्तःशुल्क ५ प्रतिशत थप गरेको छ भने १० प्रतिशत रहेको भन्सार महशुल १५ प्रतिशत पुर्याएको छ।
मोटर पावरको ५० देखि १०० किलोवाटसम्म १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लाग्दै आएको छ। अन्तःशुल्क १० बाट बढाएर १५ प्रतिशत पुर्याइएको छ भने भन्सार १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याइएको छ। नेपालमा हाल सबैभन्दा बढी यही सेग्मेन्टमा गाडी आयात हुँदै आएका छन्।
१०० किलोवाटदेखि २०० किलोवाटसम्मका चारपांग्रे निजी गाडीमा २० प्रतिशत भन्सार महशुल र २० प्रतिशत अन्तःशुल्क लाग्छ। अन्तःशुल्कको व्यवस्था यथावत् छ। भन्सार भने ३० प्रतिशत पुर्याइएको छ।
२०० देखि ३०० किलोवाटसम्मका बिजुली गाडीमा ४० प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था छ। अहिले अन्तःशुल्क ३५ प्रतिशतमा सीमित गरिएको छ भने भन्सार ४० प्रतिशतबाट ६० प्रतिशत पुर्याइएको छ।
३०० किलोवाटमाथिका गाडीमा ६० प्रतिशत भन्सार र ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था छ। अहिले अन्तःशुल्क ५० प्रतिशतमा झर्दा भन्सार महशुल ८० प्रतिशत पुर्याइएको छ।

टाटा मोटर्स
सरकारले विद्युतीय गाडीका कर बढाएपछि टाटाको टियागो ईभीको मूल्य बढ्ने भएको छ। बजेटमार्फत ५० किलोवाटका गाडीमा भन्सार र अन्तःशुल्क ५–५ प्रतिशत बढाउँदा टियागोको मूल्य बढ्नेछ।
सरकारले भन्सार र अन्तःशुल्कमा भ्याट, सडक दस्तुर जोड्दा अहिलेको मूल्यमा १३ प्रतिशत हाराहारीमा बढ्नेछ।
टाटाको टियागो ईभी



