झण्डै ६१ किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धानमा डिजिटल भुक्तानी कम्पनीहरू पे वेल र सजिलो पे पनि तानिएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यस प्रकरणको दोस्रो चरणको अनुसन्धानका क्रममा १० जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा यी दुई डिजिटल भुक्तानी कम्पनी पनि जोडिएका हुन्।

यी कम्पनीहरूको पनि दुरुपयोग गरेको भेटिएपछि नेपाल राष्ट्र बैंकले दुवै कम्पनीमा भएका सबै खाता रोक्का राखेर अनुसन्धान गरिरहेको छ।

सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्रिहरूमाथि अनुसन्धान गर्ने क्रममा यी दुई कम्पनीमा सुन तस्करीमा संलग्न रहेका आरोपीहरूको करिब ३ अर्बको कारोबार देखिएको सीआईबीले जनाएको छ।

कमिसन लिएर सुन तस्करीको काम गर्नेहरूलाई यी दुई कम्पनीमार्फत गिरोहले भुक्तानी दिने गरेको खुलेको सीआईबीका निर्देशक एवं अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले बताए।

सीआईबीको अनुसन्धानमा यी दुई कम्पनीको समेत संलग्नता देखिएपछि सीआईबीले थप अनुसन्धानका लागि राष्ट्र बैंकको सहयोग लिएको हो। राष्ट्र बैंकले यी कम्पनीमा रहेका खाता अनिश्चितकालका लागि रोक्का राखेर अनुसन्धान अगाडि बढाएको छ।

राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी पे वेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिबाट भइरहेका कारोबारहरू नियामकीय अनुपालनसम्बन्धी छानबिनको क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ। यी दुई संस्थामा रहेका सम्पूर्ण खाताहरू अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको जानकारी पनि केन्द्रीय बैंकले दिएको छ। छानबिन जतिसक्दो चाँडो गरिसक्ने पनि राष्ट्र बैंक अधिकारीहरूको भनाइ छ।

सुन तस्करीमा कमिसन लिएर काम गर्नेहरूलाई यी दुई कम्पनीमार्फत भुक्तानी गर्ने गरेको पाइएको छ। यी दुई कम्पनीबाट बैंकिङ प्रणालीमा रकम जाने गरेको देखिएको छ।

चिनियाँ गिरोहले हङकङबाट मोटरसाइकलको ब्रेकप्याड (ब्रेक सु) मा लुकाएर ल्याएको ६० किलो ७ सय ग्राम सुन राजस्व अनुसन्धान विभागले गत वर्ष साउन ३ गते विमानस्थलबाहिरबाट बरामद गरेको थियो। यस प्रकरणमा सीआईबीले पहिलो चरणको अनुसन्धान सकेर भदौ ३१ गते २९ जनाविरुद्ध अदालतमा अभियोगपत्र दायर गरिसकेको छ।

उनीहरूमध्ये केही अहिले पुर्पक्षका लागि थुनामा छन् भने केही धरौटीमा छुटेका छन्। तर अनुसन्धानमा कमजोरी भएको भन्दै जाँचबुझ आयोग गठन गरिएको थियो। आयोगले अनुसन्धानमा लापरबाही भएको भन्दै विभिन्न व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न राय दिएको थियो। सीआईबीले उक्त प्रतिवेदनअनुसार र यसअघिको अनुसन्धानमै फरार रहेका व्यक्तिलाई पक्राउ गर्दै थप तथ्य बटुलिरहेको छ।

१० जना अहिले पनि सीआईबीको हिरासतमा छन्। दोस्रो चरणको अनुसन्धानमा काभ्रेको तेमाल गाउँपालिका–४ का ४५ वर्षीय कान्छामान लामा, वीरगन्ज महानगरपालिका–११ घर भएका ५२ वर्षीय सुरेन्द्रमान श्रेष्ठ, भारत घर भई ललितपुर बस्ने २२ वर्षीय प्रशान्त गणेश बजवलकर, भारत महाराष्ट्र घर भई न्युरोड बस्ने सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’ र भारत नै घर भई न्युरोड बस्ने धीरज निदेश बैटे सीआईबीको हिरासतमा छन्।

यस्तै धादिङको सिद्धलेक गाउँपालिकाका प्रेमनाथ सेडाईं, भक्तपुर सूर्यविनायकका राजु खत्री, उदयपुरको त्रियुगा नगरपालिकाकी उषा खत्री निरौला, गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ का १८ वर्षीय सायरी विक र बौद्ध बस्ने तिब्बती नागरिक गंगा टासीलाई पनि सीआईबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

उनीहरू पहिलो चरणको अनुसन्धानबाट उम्किएका थिए। उनीहरूमाथि भन्सार चोरी पैठारी तथा संगठित अपराधमा अनुसन्धान गरिरहेको छ।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर