प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। ‘उक्त समारोहमा जानका लागि आवश्यक टोली निर्माण हुनेछ,’ उनले भनिन्।

मोदीको शपथ आइतबार दिल्लीमा हुँदैछ।

बुधबार साँझ भएको फोनवार्तामा मोदीले शपथ ग्रहणका बेला उपस्थित हुन प्रधानमन्त्रीलाई निम्तो गरेका थिए।

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका थिए।

त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो।

Laxmi bank
प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए। प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीसँग कुरा गर्न पाउँदा खुसी लागेको बताएका छन्।

‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो। उहाँको न्यानो शुभकामनाको लागि उहाँलाई धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौं,’ प्रधानमन्त्री मोदीले भनेका थिए।

लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४० सिट जितेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार पदबाट राजीनामा दिएका थिए। मोदी एनडिए गठबन्धनका दलहरूको सहयोगमा तेस्रो पटक प्रधानमन्त्री बन्ने तयारीमा छन्।

नेशनल डेमोक्रेटिक अलायन्स (एनडिए) का दुई प्रमुख दल जनता दल (युनाइटेड) र तेलेगु देसम पार्टी (टिडिपी) ले नरेन्द्र मोदीकै नेतृत्वमा सरकार बनाउने सहमति जनाएका छन्।

नयाँ दिल्लीमा बुधबार साँझ भएको एनडिएको बैठकमा जनता दलका प्रमुख एवं बिहारका मुख्यमन्त्री नितिश कुमार र टिडिपीका प्रमुख चन्द्रबाबु नायडूले मोदीलाई प्रधानमन्त्रीमा समर्थन गर्न लिखित सहमति जनाएको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर