नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन्।

१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंको शान्तिवाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

अध्यक्ष भट्टराईले कहिले कांग्रेस र एमालेसँग आलोपालो पछि लागेर प्रधानमन्त्री दाहालले सत्ताका लागि मरिहत्ते गरेको बताए। उनले माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिहरुलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान शुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरेपनि प्रधानमन्त्री दाहालको सत्तामोहका कारण त्यसलाई अघि बढाउन नसकिने जिकिर गरे।

भट्टराईले दाहालको सत्ता मोहले वाक्क भएकाहरुलाई पनि समाजवादी धारमा अघि बढाउन आफूले निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि सोही पार्टीमा एकीकरण भएर जाने निर्णय भने नगरेको बताए।

उनले भने, ‘कहिले एमालेको पछि लागेको छ, कहिले कांग्रेसको पछि लागेको छ। प्रचण्डजीले उहाँहरुलाई आफ्नो सत्ता स्वार्थमा निरन्तर घुमाई राख्नुभएको छ। त्यस्तो भएको बेलामा माओवादी आन्दोलनमा लागेकाहरुलाई समाजवादतर्फ लैजानका लागि आफूले चुनावमा सहकार्य गरेर जाने नीति लिएको हो। प्रचण्डजीलाई मेरो विश्वास थिएन। उहाँ त सत्ताको निम्ति जे पनि गर्नुहुन्छ।’

अध्यक्ष भट्टराईले दाहालले निर्वाचन अघि पानीमा भिजेको बिरालो जस्तो भएर गोरखामा चुनाव लड्नका लागि आफूसँग अनुनय विनय गरेपनि जितेपछि शेरजस्तो भएर गर्जिन थालेको भन्दै आक्रोश पनि व्यक्त गरे।

उनले भने, ‘जब निर्वाचन भयो। खोलो तर्यो, लौरो बिस्र्यो। प्रचण्डजी चुनाव जितिसकेपछि त उहाँ फेरि पानीको भिजेको बिरालो जस्तो भएको मान्छे चुनाव जितिसके पछि त शेरजस्तो भएर गर्जन थाल्नुभयो। अनि देखिहाल्नु भयो, फेरि उही कुरा दोहोयाउनु थाल्नु भयो।’

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर