
काठमाण्डौं,१० बैशाख । सहकारी चोरीको विभिन्न घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय, जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा सुनसरीको ईटहरीबाट दुई थान मोटरसाईकल र विभिन्न समान सहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा जिल्ला मकवानपुर ईन्द्रसरोबर गाउँपालिका वडा नं.५ फाखेल बस्ने वर्ष ३० को सोमलाल स्यांड्तान, सोही ठाउँका २१ वर्षिय सुनिल भन्ने सन्त बहादुर स्यांड्तान, २२ वर्षिय सुनिल स्यांड्तान, २५ वर्षिय बुद्ध स्यांड्तान, २६ वर्षीय सुजन स्यांड्तान र जिल्ला मकवानपुर, मकवानपुर वडा नं. ८ का २८ वर्षिय अजय राना मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक(डिएसपी) कृष्ण बहादुर चन्दका अनुसार जिल्लमा विभिन्न समयमा भएको १३ वटा सहकारी चोरीको घटनामा संलग्न भई तीस लाख सोह् हजार छ सय सतासी चोरी गरेको अनुसन्धानबाट देखिएकोले विभिन्न प्रहरी युनिटहरुको सहयोगमा प्रतिवादीहरुलाई पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका सबैको आईवारै जिल्ला अदालत झापाबाट चोरी कसुर मुद्धामा म्याद थप भई थप अनुसन्धान भैरहेको डिएसपी चन्दले जानकाकारी दिनुभयो ।
