
दुई धार्मिक समूहबीचको तनाव हिंसात्मक झडपमा परिणत भएपछि सुनसरी सदरमुकाम इनरुवासहित ५ वटा पालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ।
केही दिनयता सुनसरीका सीमावर्ती क्षेत्रमा सामाजिक र धार्मिक सद्भाव खल्बल्याउने गरी दुई धार्मिक समुदायबीच झडप भइरहेका थिए।

तनाव चुलिँदा शुक्रबार सुनसरीको भुटाहामा हिंसात्मक झडप भएको थियो। भुटाहामा भएको झडपमा चारजना घाइते भएका छन्।
प्रहरीले कयौँ दर्जन सेल अश्रुग्यास र हवाई फायर गरिसकेको छ। घाइते तीनजनाको विराटनगरमा र एकजनाको इनरुवा अस्पतालमा उपचार भइरहेको छ।
तनावबीच स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम शुक्रबार बेलुका ५ बजेदेखि सूचना जारी नभएसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरेर निस्कनेबाहेक सामूहिक रूपमा सामाजिक, धार्मिक, राजनैतिक सभा,र्याली/ भेला र प्रदर्शन गर्न निषेध गरिएको प्रशासनले जनाएको छ।
आदेशविपरीत गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने पनि फुयलले बताएका छन्।
