
देवत्व प्राप्त गरी भैरवको मान्यता पाएका हाम्रा पुर्खाहरू
नेपाल मण्डलमा यस्तो धेरै किम्बदन्तीहरू छन् जहाँ शक्ति पीठहरूमा शक्ति पूजाहरू र शक्ति साधना गरी मनुस्यहरूले सिद्धि प्राप्त गर्दै देवत्वमा पुग्न सफल भएका छन् । ती मध्यमा केही उपत्यकामा प्रसिद्धि पाएकाहरू पनि छन् । जसमा आकाश भैरव, पचली भैरव र आनन्द भैरव पर्दछन् । आज म यीनै सिद्धि प्राप्त गरी देवत्वमा पुग्न सफल भएका आकाश भैरव, पचली भैरव र आनन्द भैरवका नामबाट प्रसिद्धि पाएकाहरूको सम्झना गरिरहेको छु ।

अहिले सम्म हामीले पॉच प्रकारले भैरवहरू उत्पत्ति भएको चर्चामा ल्यायौँ । त्यसबाहेक अन्य भैरवहरू पनि छन् जसको बारेमा बिस्तार-बिस्तार चर्चा गर्नेछौँ । अहिले सम्म हामीले यी पाँच प्रकारका भैरवहरूको उत्पत्ति भएको चर्चा गर्यौँ ।
- महादेव ले श्री माहामायाको सल्लाहमा यमराज बाट उत्पत्ति भएको नित्य प्रलय गर्ने कालको नियन्त्रण गर्ने श्री काल भैरवको उत्पत्ति गरेको चर्चा गर्यौँ ।
- दोस्रो मा कीर्तिमुख भैरवको उत्पत्तिको बारेमा चर्चा गर्यौँ । दक्ष प्रजापतिले महादेवलाई यज्ञमा भाग नदिने हेतुले ठूलो यज्ञ गरेका थिए । जसलाई बिध्वंस गर्न र यज्ञ भाग खान महादेवले क्रोधित भएर वीरभद्रको उत्पत्ति गर्नु भएको थियो जसलाई पछि किर्तिमुख भैरव नामाकरण गरेर पशुपतिनाथ मन्दिरको दक्षिण ढोका बाहिर सदाकालको लागि स्थापित रहन वरदान दिनु भयो ।
- तेस्रोमा अष्ट मातृकाहरूको साथमा उत्पत्ति भएको अष्ट भैरवहरूको उत्पत्ति बारेमा चर्चा गर्यौँ । ती हुन्: असितांग भैरव, रु रु भैरव, चण्ड भैरव, क्रोध भैरव, उन्मत्त भैरव, कपाली भैरव, भीषण भैरव, र संहार भैरव ।
- चौथोमा हामीले भिंद्य, नासद्य र भैलद्य चौसट्ठी कलायुक्त शिवलिंग बाट उत्पत्ति भएको चर्चा गर्यौँ ।
⁃ भीमेश्वर शिवलिंग बाट भिंद्यको उत्पत्ति: व्यापार, कृषि र अन्य व्यवसायहरू सफलताका साथ संचालन गर्न कला प्रदान गर्ने भीम रूप भैरव जसलाई हामी भिंद्य भन्दछौँ । भिंद्यबाट भय र शत्रुनाश बाहेक अन्य कैयौँ सहयोगहरू व्यवसाय सफलताका साथ संचालन गर्न प्रदान गरि आउनु भएको छ ।
⁃ नतारंभेश्वर शिवलिंग बाट नट्टेश्वर (नासद्य) को उत्पत्ति: महादेवलाई संतोष पार्न र सबैलाई मनोरंजन दिने बाद्यबादन, गीत संगीत, राग भजनहरू र नाचहरू सिक्ने कला प्रदान गर्ने नट्टेश्वर वा नाट्टेश्वर उत्पत्ति भएको चर्चा गर्यौँ ।
⁃ भैरवेश्वर शिवलिंग बाट भैरव (भैलद्य) को उत्पत्ति: शत्रु पराजय गर्न वा शत्रुनाश गर्ने कला प्रदान गर्ने भयंकर डरलाग्डो रूपको भैरव उत्पत्तिको चर्चा गर्यौँ जसलाई हामी भैलद्य भन्दछौँ ।
- पाँचौमा हामी आकाश भैरव, पचली भैरव र आनन्द भैरवको उत्पत्तिको बारेमा चर्चा गरिरहेका छौँ । शक्ति पूजाहरू, शक्ति पाठहरू, शक्ति साधना गरी मनुस्यहरू पनि सिद्धि प्राप्त गरी देवत्वमा पुग्न सक्तछन् भन्ने नेवा दर्शन र सिद्धान्त अनुसार सफलता साथ सिद्धि प्राप्त गर्ने पुर्खाहरूको चर्चा गर्न गइरहेका छौँ । त्यसमा पनि खास गरेर आकाश भैरव, पचली भैरव र आनन्द भैरव जस्तो भैरवको रूपमा प्रसिद्धि पाएका र पूजित भएकाहरूको चर्चा गर्न गइरहेका छौँ ।
आकाश भैरवको उत्पत्ति:-
ईन्द्रचोकको आकाश भैरवलाई प्रसिद्ध किराँत राजा यलम्वरको भैरव रूप मानी पूजाआजा गर्ने चलन किराँत कालदेखि नै चलिआएको स्थानीय वासीहरू विश्वाश गर्दछन् ।
यसबारेमा प्रचलित कथा अनुसार किराँत राजा यलम्वरले काठमाण्डौं उपत्यका र त्यसको वरिपरिका क्षेत्रहरूमा राज्य गर्दथे । राजा यलम्वर ज्यादै प्रसिद्ध किराँत राजा थिए । उनी पशुपतिनाथको बत्सलेश्वरी (सिद्धिलक्ष्मी) को परम् भक्त थिए । वहाँले बत्सलेश्वरी शक्ति पीठको तान्त्रिक विधि अनुसार शक्ति पूजाहरू र शक्ति साधना गरी सिद्धि प्राप्त गरेका थिए ।
वहाँको राज्यकालमा द्वापर युगको अन्ततिर कुरुक्षेत्रमा हुन लागेको कौरव र पाण्डवहरूको महाभारत युद्ध हुँदैछ भन्ने कुरा सिद्धि प्राप्त भएको हुनाले थाहा पाएका थिए । यो थाहा पाएर राजा यलम्वर साधारण मानिसको रूपमा महाभारत युद्ध हेर्न कुरुक्षेत्र गए । तर राजा यलम्वर कुरुक्षेत्र पुग्दा त्यहाँ कुनै युद्ध भइरहेको उनले देखेनन् । उनी आश्चर्य मानेर त्यही बसिरहे । राजा यलम्वर त्यहॉ बसिरहेको कुरा कृष्णलाई खबर भयो । यो खबर पाएर कृष्ण पनि कुरुक्षेत्रमा आएर राजा यलम्वरलाई भेटे । भेटमा यलम्वरले कृष्ण सँग प्रश्न गरे महाभारत युद्ध अझ सम्म पनि किन नभएको भनेर सोधे । यलम्वरको यस्तो प्रश्न सुनेर बड़ो आश्चर्य मानेर यो व्यक्ति को हो ? यसले महाभारत युद्ध हुँदैछ भनेर कसरी थाहा पायो । किनभने महाभारत युद्ध हुन्छ भन्ने कुरा त कृष्णलाई बाहेक अरु कसैलाई पनि थाहा थिएन । त्यसकारण कृष्णले ध्यानदृष्टिले हेर्दा यलम्वर सिद्धि प्राप्त व्यक्ति रहेछ भनेर थाहा पाए ।
सो कुरा थाहा पाएपछि कृष्णले यलम्वर सँग सोधे तपाईँ महाभारत युद्धमा कसको पक्षमा युद्ध गर्न आउनु भएको हो । त्यसमा यलम्वरले जवाफ दिए युद्धमा जसको हार हुन्छ उसैको पक्षबाट लड्छु भनेर जवाफ दिए । त्यो जवाफ सुनेर कृष्ण झस्के र युद्धको नतिजामा असर पर्ने देखेर यलम्वरलाई युद्धमा भाग लिन नदिन छल गरे । कृष्णले कुरै कुरामा वाचा गर्न लगाएर शिर काटिदिए । सो काटिएको शिर उडेर आकाशमा बसेर महाभारत युद्ध हेर्ने योजना बनाए । यलम्वरको शिर आकाशमा बसेर महाभारत युद्ध हेर्न थाले तर युद्धमा धेरै जालझेल र छलकपट भएको देखेर उसलाई हेरिरहन मन लागेन र आकाश मार्गबाट नै आफ्नु राज्य नेपाल मण्डलमा फर्केर आए । वहाँलाई नेपालमा नै बसेर सबैको सेवा गरेर बस्न इच्छा भयो ।
आफ्नु प्रिय राजा त्यसरी शिर काटिएको टाउको लिएर आकाश मार्गबाट सबैको सेवा गर्ने लक्ष लिएर फर्केको देखेर सबैले आकाशबाट उडेर आएको देखेर आकाश भैरव नामाकरण गरेर मानेर पूजाहरू गर्न शुरु गरे । यसरी आकाश भैरवको नामबाट प्रसिद्धि पाएको भान हुन्छ ।
यसरी किराँतकाल देखि नै भैरवको नामबाट प्रसिद्धि प्राप्त गरेको हुनाले सोही काल देखि नै भैरवको रूपमा पूजाहरू भई आएको र अहिले आएर झन् सशक्त रूपमा मानी आएको पाइन्छ । नेपाल मण्डलमा भैरवलाई राज्य शक्तिको मूल श्रोतको रूपमा पनि मान्दै आइरहेको पाइन्छ । त्यसबेला देखि नै राजालाई न्याय प्रेमी, विवेकशील, असल शासक बनि राज्य संचालन गरी सबै जनताहरूलाई सहयोग पुर्याई आएको हुनाले पनि भैरव रूपको मान्यता पाएको देखिन्छ । यसरी आजसम्म पनि शक्तिको प्रतीक स्वरूप रहेको खड्ग सिद्धि प्रदान गर्ने प्रचलन रहेको छ ।
यसरी किराँत राजा यलम्वर ईन्द्रचोकको आकाश भैरव भन्ने नामबाट प्रसिद्धि प्राप्त भएको र सिद्धि प्राप्त गरी देवत्वमा पुग्न सफल भएको एक उदाहरण हो ।
पचली भैरवको उत्पत्ति:-
त्यस्तै फर्पिंगको राजा पचली सिंह एक निपुण तान्त्रिक थिए जस्ले झंकेश्वरी शक्ति पीठमा शक्ति पूजाहरू र शक्ति साधना गरी सिद्धि प्राप्त गरेका थिए । भनिन्छ वहाँको नित्य क्रियामा दिनहुँ प्रातकालमा बाग्मती नदी म स्नान गरी झन्केंश्वरी शक्ति पीठमा शक्ति पूजाहरू र साधना गरी दिनभरि फर्पिंग राज्यको राजकाज सम्हाल्नु हुन्थ्यो ।
केही कालपछि वहाँ मचलि शक्ति पीठ र नैअजिमा (बैष्णबी) को शक्ति पीठमा दर्शन ढोग गर्न जान शुरु गर्नु भयो । यसै क्रममा वहाँको काठमाण्डौंको दक्षिण भेकमा बस्ने अति सुन्दरी केटी शाही (कसाईनी) सँग भेट भयो । सो केटी पनि बैष्णवी शक्ति पीठको नित्य शक्ति साधना गरी सिद्धि प्राप्त गरेको रहेछ । सो केटीको शक्ति साधना बाट खुशि भएर सो बैष्णबी शक्ति पीठ नैअजिमाको नामबाट प्रसिद्धि पाएको थियो ।
फर्पिंगको राजा पचली सिंह पनि नित्य साँझ परेपछि यहाँ आएर दुबैजना सँगै बसेर शक्ति साधना गर्न बस्न थाले । यसै क्रममा दुई जनाको बीचमा प्रेमभाव जागेर आयो र काम क्रिडा गर्न पनि शुरु भयो । यसरी दुई जना रातभर साथ रहने र प्रातःकालमा मात्र बाग्मती मा स्नान गर्न जाने गर्न लागे ।
यसैक्रममा एक दिन राती गफै गफमा पचली सिंह राजाले आफ्नु प्रेमिका सँग आफ्नु तान्त्रिक रूप भैरवको जस्तो भयंकर डरलाग्डो भएको कुरा सुनाउन पुगेछन् । यो कुरा सुनेपछि वहाँको प्रेमिकालाई राजाको सो तान्त्रिक रूप हेर्न ज्यादै उत्सुकता जाग्यो । त्यसकारण प्रेमिकाले आफ्नु इच्छा राजालाइ जाहेर गरे । राजाले धेरै बेर सम्म सम्झाउन कोशिश गरे । राजाले यसरी सम्झाउँदा पनि नमानेर प्रेमिकाले जिद्दी गरेर बसिदिए पछि सो रात राजा आफ्नु तान्त्रिक भयंकर डरलाग्डो रूपको दर्शन दिन बाद्य भए ।
राजाले प्रेमिकालाई आफ्नु रूप देखाउनु भन्दा पहिले सबै कुराहरू सम्झाउन लागे । त्यस रूपको व्याख्या गरेर त्यसको माने पनि सम्झाए । यसरी सम्झाउँदा प्रेमिकाले सबै कुराहरू राम्रो सँग बुझेको देखाएर हुन्छ भने ।
त्यसपछि राजा पचली सिंहले हातमा चामलको गेडाहरू लिएर अक्षता बनाएर प्रेमिकालाई दिँदै सम्झाउन लागे । “हेर यो अक्षता हातमा लिएर बस अनि मेरो तान्त्रिक रूप हेर ।” आफूलाई हेर्न पुगेपछि यो हातमा लिएको अक्षताले मेरो यस रूपको शरीरमा हान्नु भने । यसरी यस अक्षताले हाने पछि फेरी म मानव रूपमा आउने छु भनेर सम्झाए । प्रेमिका ल सबै कुराहरू बुझेर हुन्छ भनेर आश्वासन दिए ।
यो सबै कुराहरू भई सकेपछि राजा पचली सिंहले आफ्नु मानव शरीर छोडेर तान्त्रिक रूप धारण गरेर प्रेमिकालाई दर्शन दिए । राजाको त्यो भयंकर डरलाग्डो रूप देखेर प्रेमिका डराईन । वहाँको होस हवास उड्यो/गुम्यो । प्रेमिकाले राजाले सम्झाएको सबै कुराहरू बिर्से केही याद आएन । वहाँले अक्षताले राजाको तान्त्रिक शरीरमा हान्ने कुरा सबै बिर्सेर यताउता भागेर बच्ने उपायहरू खोज्न लागे । यसरी प्रेमिका डराएर यताउता भाग्न खोजे पछि आँखाले केही हेर्न पनि सकेन देख्ने त कुरै भएन । त्यसबाट कसरी बच्ने भन्ने मात्र ध्यानमा रह्यो । हातमा भएको अक्षताले हान्ने भन्ने त ध्यानै भएन ।
उता पचली सिंह राजा आफू तान्त्रिक रूपबाट मानव रूपमा आउन अक्षताले शरीरमा हान्ने भनेर सम्झाउन लागिरहेका थिए । अक्षताले हिर्कावस भन्ने आशाले राजा प्रेमिकाको पछि-पछि लागे । यसरी पछि-पछि लागेको देखेर प्रेमिका झन्झन् डराएर भाग्न लागिन् ।
यसरी रातभर पछाडि-पछाडि लाग्दै जाँदा राजाले प्रेमिकालाई भेट्टाउन सकेन अक्षताले हान्ने कुरै भएन । प्रेमिकालाई पछ्याउँदै पचली सिंह राजा हालको नैअजिमाको शक्ति पीठ नीर आईपुग्दा प्रातःकाल भएको र कुखुरा बासेको सुनेछन् । बिहान हुन लागेको देखेर राजाले आफ्नु तान्त्रिक रूप लुकाउने ठॉउ खोज्न लागे । केही नपाएर त्यहाँ रहेको मान्द्रोहरूले छोपेर नदेख्ने गरेर लुक्न खोजेछन् । तर यसरी लुक्दा पनि वहाँको कण्डो छोपिएन छ ।
बिहान बाग्मतीमा स्नान गर्न आउने भक्तजनहरूले को हो भनेर हेर्दा राजाको तान्त्रिक रूप देखेपछि भैरव भनेर ढोगेर पूजाहरू गर्न लागेको देखि राजालाई लाज लागेर लाज पचाउन त्यहीँ शिलामा परिणत भएर रहनु भयो । त्यसबेला देखि नै सबै भक्तजनहरूले पचली भैरव भनेर पूजा गर्न लागे र प्रसिद्धि प्राप्त गरी आजसम्म पनि त्यो पूजा धूमधामका साथ गरिआएको पाइन्छ ।
यसरी पचली भैरव, राजा पचली सिंहको भैरव रूप भनि मानी आएको र पूजाहरू गरिआएको मान्यता छ । ईन्द्रचोकको आकाश भैरवलाई प्रसिद्ध किराँत राजा यलम्वरको भैरव रूप र त्यस्तै नै अजिमा शक्ति पीठको पचली भैरवलाई फर्पिंगको राजा पचली सिंहको भैरव रूप मानी पूजाहरू गरी आएको परम्परा रहेको छ ।
आनन्द भैरवको उत्पत्ति:-
कथा अनुसार एक समयमा विकट नामको किराँतको एउटा लाटो छोरो रहेछ । विकटले आफ्नु लाटो छोरोलाई ज्ञान धारामा (ज्ञान कुण्डमा) स्नान गराएर ज्ञानेश्वर शिवलिंगको पूजा गरी छोडिदिएछन् ।
लाटो छोरो त्यहीँ बसेर ज्ञानेश्वर शिवलिंगको आफ्नै एकोहोरो पाराले निःस्वार्थ भावले सेवा गरी पूजा आराधना गरेर बसेछ । त्यस लाटोमा ज्ञानेश्वर शिवलिंगको दृष्टि गएछ र ज्ञानेश्वर शिवलिंग आफैँले ज्ञान दिन शुरु गरेछन् । त्यसबाट लाटोको बोली फुट्यो र पछि प्रखर विद्वान भएछन् ।
यसरी, आफूले ज्ञानेश्वर बाट ज्ञान पाएर प्रखर विद्वान भएछन् । ज्ञानेश्वर बाट ज्ञान पाएपछि सबै प्राणीहरूको सेवा गर्ने, प्राणीहरूलाई दया माया गर्ने, आवश्यक सहयोग पुर्याएर बस्ने इच्छाजागेछ । यसै क्रममा वहाँले आफ्नु विशेष लक्ष्य बालबच्चाहरूको सुस्वास्थ्य र सम्बृद्धिको विषयमा सहयोग पुर्याउने इच्छादेखाएछन् । त्यसकारण वहाँलाई परापूर्व काल देखि नै ज्ञान – आनन्द भैरव भनि मानी आएको भनाई छ ।