
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ हजार ३०९ वटा अनुगमन गरी ८४२ वटा फर्मलाई ३ करोड २९ लाख जरिवाना गरिएको जनाएको छ । ‘विश्व उपभोक्ता अधिकार दिवस २०८०’ को अवसरमा शुक्रवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभा हलमा आयोजित कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले उपभोक्ता संरक्षण र बजार अनुगमनका सम्बन्धमा हालसम्म सम्पादन भएका कार्य, उपलब्धिहरू र आगामी कार्यदिशाको बारेमा प्रस्तुतीकरण गर्ने क्रममा सो जानकारी दिएका हुन् ।
उनले उपयोग अयोग्य भएका करिव १ करोड ५ लाख मूल्य बराबरको सामान नष्ट गरिएको पनि जानकारी दिए । त्यसैगरी, महानिर्देशक चिलुवालले चाडबाडको सघन अनुगमन पश्चात् अन्य अनुगमनका अतिरिक्त १३ वटा दुध उद्योग, ८ वटा सुर्ती तथा मदिराजन्य व्यवसाय, १६ वटा स्टार तहका होटलहरुको अनुगमन गरी कैफियत देखिएकालाई दण्ड जरिवाना गरिएको पनि जानकारी गराए ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण महाशाखाका प्रमुख गजेन्द्र कुमार ठाकुरले स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव नारायण प्रसाद शर्मा दुवाडीको अध्यक्षता रहेको थियो । यस्तै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानको प्रमुख आतिथ्यता रहेका थियो ।
कार्यक्रममा उद्योग सचिव मुकुन्द प्रसाद निरौला, उपभोक्ता संरक्षण परिषदका सदस्यहरु, उपभोक्ता अधिकारवादी संघसंस्थाहरु, उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग व्यापार महासंघ लगायत विभिन्न विभागका महानिर्देशक, मन्त्रालयका महाशाखा प्रमुखहरू, विभागका महानिर्देशक, मन्त्रालय र विभागका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
दिवसको यस वर्षको नारा स्वच्छ र प्रतिस्पर्धी बजारः उपभोक्ता सार्वभौम अधिकार’ भन्ने रहेको थियो । कार्यक्रममा सचिव दुवाडीले हरेक व्यक्ति पहिला उपभोक्ता भएकोले स्वच्छ र प्रतिस्पर्धी बजार राष्ट्रिय जीवनको आवश्यकता भएको बताउँदै उपभोक्ताको हक हित संरक्षणमा सबैको साझा प्रयास आवश्यक रहेको बताए । उनले निजी क्षेत्रले आफ्ना व्यावसायिक क्रियाकलापका सम्बन्धमा उपभोक्ता हित संरक्षणको विषयलाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताए।
कार्यक्रममा डिजिटल सहभागिता गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उपभोक्ताको मौलिक हक संरक्षणका लागि उपभोक्ता अदालत गठन गर्ने प्रतिबद्धता सहित विश्व उपभोक्ता अधिकार दिवसको सम्पूर्ण देशवासीमा शुभकामना व्यक्त गरेका थिए ।