
काठमाडौं,२२ फागुन। नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ले गृहसहित ४ मन्त्रालय पाउनुपर्ने अडान गरेको छ । रास्वपाले सरकारमा उपप्रधान र गृहसहित अरू तीन मन्त्रालय माग गरेको छ ।
रास्वपा सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई सरकारमा पठाउन गृह मन्त्रालयलाई ‘बटमलाइन’ बनाइएको स्रोतले दाबी गरेकाे छ । गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने बताएको छ ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पनि पार्टीले माग गरेर छलफल गरिरहेको ती नेताको भनाइ छ । रास्वपाका तर्फबाट उपाध्यक्ष स्वर्णिम वाग्ले गठबन्धनभित्र भागबन्डा टुंगो लगाउन छलफलमा छन् ।
मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो बस्दैछ । बैठकमा रास्वपाबाट पार्टी उपसभापति स्वर्णिम वाग्ले नै सहभागी हुनेछन् ।
सोमबार नयाँ गठबन्धनसहित विस्तार भएको मन्त्रिपरिषदमा रास्वपाबाट डिपी अर्याल मन्त्री बनिसकेका छन् । मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन ।