
शहिद दिवस २०८० को यस सन्दर्भमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति श्रद्धापूर्वक स्मरणका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्दछु । घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्दछु ।
माघ १६ गते नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहिदहरूप्रति विशेष सम्मान र स्मरण गर्ने दिन हो । नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले उच्च बलिदान गर्नुभएको छ । तसर्थ, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।
आजको दिन महान् शहिदहरूको स्मरणका साथै देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति उहाँहरूले देख्नुभएको सपना र गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन पनि हो । साथै महान् शहिदहरूको योगदानलाई सम्मान गर्दै उहाँहरूको योगदान र कृति चीरस्थायी तुल्याउने एवं शहिद परिवारको उचित सम्मान, संरक्षण र जीवनवृत्तिका निम्ति समर्पित हुने दिनसमेत हो । यही यथार्थलाई आत्मसात गर्दै सरकारले इतिहासका विभिन्न कालखण्डमा शहादत प्राप्त गर्नुहुने शहिदहरूलाई राष्ट्रिय शहिद घोषणा गर्दै उहाँहरूको सम्मान र परिवारको संरक्षण र अभिभावकत्वको पक्षलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

लखन थापादेखि राणाकाल विरूद्धका चरणवद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, दश वर्षे जनयुद्ध, मधेश आन्दोलन लगायतका आन्दोलन, आफ्नो पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण आन्दोलनको बलमा नै वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्था प्राप्त भएको हो । त्यसैले वर्तमानमा प्राप्त उपलब्धीहरूको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै आजको सन्दर्भमा महान् शहिदहरूप्रति सच्चा श्रद्धाञ्जली गर्नु हुन जान्छ ।
अन्त्यमा, आजको दिनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति कर्तव्यनिष्ठ भएर अगाडि बढ्न प्रेरणा मिल्ने विश्वासका साथ महान् शहिदहरूप्रति फेरि एकपटक श्रद्धासुमन व्यक्त गर्दछु । धन्यवाद ।
मिति : १६ माघ २०८०
नेपाल संवत् ११४४ पोहेंलागा पञ्चमी
पुष्पकमल दाहाल ‘प्रचण्ड