विराटनगर। बिहीबार हुने राष्ट्रियसभा निर्वाचनअघि कोशी प्रदेशको राजधानी विराटनगरमा दलहरूले आचारसंहिता उलंघन गरेपछि निर्वाचन आयोगले पत्र काटेको छ।
आयोगले आचारसंहिता पालना गराउन नसकेको भन्दै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई २४ घण्टे पत्र काटेको हो।

निर्वाचन आयोगले तोकेको मौनअवधिमा पनि दलहरूले चियापान र अन्य भेटघाटसहितलाई तीव्र पारेका थिए। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बुधबार विराटनगरस्थित कोइराला निवासमा सयौँ नेता कार्यकर्तासहितको जमघट गरेका थिए।
चियापान नाम दिएर गरिएको उक्त जमघट पनि निर्वाचन लक्षित थियो। दलहरू अझै निर्वाचन प्रचारमा लागेको सूचना आएको भन्दै आयोले प्रजिअ अधिकारीलाई त्यसबारेको प्रतिवेदन दिन भनेको हो।
त्यसअवधिमा राष्ट्रिय सभा सदस्य निर्वाचनसँग सम्बन्धित प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था गरिएको छ।
तर दलहरूले विराटनगरमा निर्वाचन प्रचारप्रसार गरिरहेको जानकारी प्राप्त भएकाले पत्र काटिएको पौडेलले जानकारी दिए।
‘यस सम्बन्धमा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीतको कार्य भएको हो वा होइन? सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेस गर्न मोरङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ’, पौडेलले भनेका छन्।






