
काठमाण्डौ,३ माघ । आज बसेको मन्त्री परिषदको बैठकले विभिन्न निकायमा रिक्त रहेको पदाधिकारीहरु नियुक्त गर्ने निणर्य गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुधवार बसेको बैठकले नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा श्री पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निणर्य गरेको छ ।
बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपति समक्ष सिफारिस गर्ने निणर्य समेत गरेको छ । त्यस्तै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने, सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुम पश्चिमका श्री किरणबाबु पुनलाई नियुक्त गर्ने,नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा श्री रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्त गर्ने निणर्य गरेको प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)का प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
निर्णयहरु
१. नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदमा श्री पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने ।
२. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
३. राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने ।
४. सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका वडा नम्बर ६ रुकुमपश्चिमका श्री किरणबाबु पुनलाई नियुक्त गर्ने ।
५. नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा श्री रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने ।
६. सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्त गर्ने ।
