काठमाडौँ । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले बुधबार ८ वर्ष जेल सजाय सुनाइसकेको छ।

हाल थुनाबाहिर रहेका उनी अब कहिले पक्राउ पर्छन् र जेल जान्छन्? यतिबेला धेरैलाई यो जिज्ञासा लागिरहेको हुनसक्छ।

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार जेल सजाय तोकिए पनि सन्दीप तत्काल पक्राउ पर्दैनन्।

उनका अनुसार सन्दीपलाई अझै कम्तीमा ४ महिना पक्राउ गर्न मिल्दैन।

‘जिल्ला अदालतले फैसलाको पूर्णपाठ तयार पारेपछि सन्दीपले पुनरावेदन गर्न ७० दिनको म्याद पाउँछन्’, बिहीबार बिहान नेपालखबरसँग कुरा गर्दै सूचना अधिकारी पन्थीले भने, ‘यस अवधिभित्र पुनरावेदन गरेनन् भने थप ३० दिन पाउँछन्।’

उनका अनुसार फैसलाको पूर्ण पाठ तयार पार्न अदालतलाई २१ दिन लाग्छ। अर्थात् सन्दीपले २१ दिनपछि फैसलाको पूर्ण पाठ पाउँछन्। त्यही दिनदेखि गन्ती गरेर उनले सय दिन पुनरावेदनका लागि समय पाउँछन्।

यस हिसाबले त्यो २१ र यो १०० गर्दा उनले अझै १२१ दिन अर्थात् ४ महिना समय पाउँछन्

त्यसपछि पनि सन्दीपले थुनाबाहिर बसेरै पुनरावेदन गरिपाऊँ भनेर निवेदन दिन पाउने कानुनी व्यवस्था छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ को २ अनुसार १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले थुनाबाहिरै बसेर पुनरावेदन गर्ने अनुमति पाउँछ।

तर यस्तो अनुमति दिने कि नदिने भनेर पुनरावेदन दर्ता गर्ने उच्च अदालतका का रजिस्ट्रारले निर्णय गर्नुपर्छ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर