
सुनसरी २५ पुस । नेपाल बिद्युत् प्राधिकरणले लाइन काटेपछि देशभरका अधिकांश उद्योग कल कारखानाहरू अस्याथी रुपमा बन्द भएका छन् । उद्योग सञ्चालनमा समस्या हुन थालेपछि यति बेला हजारौ मजदुरहरू बिचल्लीमा परेका छन् । यसै अन्तरगत सुनसरी – मोरङ औद्योगिक केरिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूको पनि लाइन काटिएको अवस्था छ । केही जेनेरेटरको माध्यमबाट सञ्चालन भइरहेका छन् भने कहि बन्द अवस्थामा रहेका छन् । केरिडार क्षेत्रकै सबैभन्दा ठुलो उद्योग मानिएको रिलायन्स स्पिनिङ मिल पनि गत पुस ६ गते देखि बन्द अवस्थामा छ ।
करिडोरको मात्र नभइ देशकै ठुलो धागो उद्योग मानिएको रिलायन्स बन्द भएपछि ५ हजार बढी मजदुरहरू बिचल्लीमा परेका छन् भने २ हजार मजदुरहरू घर फर्किइसकेका छन् । प्राधिकरणले बिद्युत् सेवा बन्द गरेपछि कार्यरत मजदुरहरू रिलायन्स अगाडी दिनहुँ आन्दोलन गर्न बाध्य बनेका छन् । रोजगारीको ग्यारेन्टी हुनुपर्ने , गरिखान पाउनुपर्न जस्ता मागहरू राखेर उनीहरू क्रमशः आन्दोलन गर्दै आएका छन् ।

उद्योग सञ्चालन गर्न पाउनुपर्न माग सहित रिलायन्स प्रशासनले केही दिन अगाडी सुनसरी अदालतमा निवेदन पनि दिएको थियो । तर सुनसरी जिल्ला अदालतले उद्योग विरुद्ध फैसला गरेपछि झनै अन्यौलता उत्पन्न भएको छ । अदालतले अन्तरकालीन आदेश जारी गर्न नमिल्ने आदेश जारी गरेपछि झनै अन्यौलता छाएको हो ।
न्यायाधीश टेकबहादुर कार्कीको इजलासद्वारा जारी आदेशमा भनिएको छ, ‘मिल्सले डेडिकेटेड लाइन विद्युत् लिए बापतको हालसम्मको तिर्नुपर्ने १ अर्ब ७१ करोड ३१ लाख ६९ हजार ११६।८१ रुपैयाँ बक्यौता नतिरेबापत उद्योगको लाइन काटिएको र यी जस्तै अवस्थाका उद्योगहरूलाई बाँकी बक्यौता ६० किस्तामा बुझाउन मन्जुर भई निवेदन दिएका उद्योगको लाइन जडान गर्ने भनी नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको मिति २०८०र९र१६ गतेको निर्णय देखिँदा लाइन काटिसकेको अवस्थामा अन्तरकालीन आदेश जारी गर्न मिलेन ।’
यता रिलायन्स लगायत ठुला उद्योगहरू कानुनी लडाइ लड्न तयार तर प्राधिकरणले पठाएको बिल बापतको रकम भने नतिर्ने अडानमा बसेका छन् । गत पुस ११ गते धरानमा पत्रकार सममेलननै गरेर उद्योगीहरूले प्राधिकरणबाट अन्याय भएको दाबी गर्दै आएका छन् । प्राधिकरणले भने जस्तो आफूहरूले मुलुक लोडसेडिङको मारमा चलिरहेको बेला प्रिमियम सहितको महसुल लाग्ने ‘ट्रङ्क लाइन’को ‘डेडिकेटेड’ विद्युत् प्रयोग नगरेको र फर्जी बिलको रकम तिर्न नमानेपछि बिना कारण बिद्युत् कटौती गरिएको उद्योगीहरूको भनाइ छ ।
प्राधिकरणले पठाएको विवरण अनुसार केरिडार क्षेत्रमा सञ्चालित रिलायन्स स्पिनिङ मिल्सले १ अर्ब ७१ करोड ३१ लाख ६९ हजार ११६।८१ रुपैयाँ बक्यौता बुझाउनुपर्ने देखिएको छ ।