
सिटीबसले खरिद गरेको हङकङकै पहिलो हाइड्रोजन डबल डेकर बस सन् २०२४ को जनवरीदेखि सञ्चालनमा आउने भएको छ।
बसले काउलुन साएडमा सेवा उपलब्ध गराउने गरी यातायात विभागबाट अनुमति पाइसकेको छ।
सिटीबसलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार हाइड्रोजन बस डिजेल बसभन्दा वातावरणमैत्री हुनेछ। हाइड्रोजन रासायनिक प्रतिक्रियाबाट विद्युत्मा परिणत हुन्छ र बस चलाउन प्रयोग गरिन्छ।

सिटीबसका अनुसार बसमा इन्धन भर्न १५ मिनेट समय लाग्दछ र यसले चार सय किलोमिटरसम्म यात्रा गर्न सक्छ।
हाल मिथेनबाट उत्पन्न हुने ग्रे हाइड्रोजनबाट इन्धन चलाइने र भविष्यमा हाइड्रोजन ऊर्जा विकास परिपक्व भएपछि अन्य देशबाट नवीकरणीय ऊर्जाका साथ उत्पादन गरिएको हरियो हाइड्रोजन आयात गर्न सकिने कम्पनीले जनाएको छ।
हङकङको नियमअनुसार हाइड्रोजनद्वारा चल्ने सवारीसाधनलाई सुरुङबाट यात्रा गर्ने अनुमति छैन, त्यसैले बस काउलुन साइडमा मात्र चल्नेछ।
बसले पहिले नै विभिन्न अन्तर्राष्ट्रिय सुरक्षा परीक्षणमा पास भइसकेको, बसमा विभिन्न अनुगमन प्रणाली जडान गरिएको र चालकहरूलाई पर्याप्त तालिम दिइएको कम्पनीको दाबी छ।
सन् २०४५ सम्ममा डिजेलद्वारा चल्ने बसलाई शून्यमा झार्ने लक्ष्यमा कम्पनीको अगाडि बढेको बताउँदै सिटीबसले अर्को वर्ष हाइड्रोजन बसको सेवा प्रभावका बारेमा तथ्यांक संकलन गर्ने बताएको छ।
हङकङका प्रमुख कार्यकारी जोन लीले हङकङकै पहिलो हाइड्रोजन बसको शुभारम्भ गर्न पाउँदा खुसी लागेको बताएका छन्। यसले सहरमा नयाँ ऊर्जा सवारीसाधन प्रयोगको लागि महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने बताए।
प्रमुख लीले सिटीबसको यो अनुभवलाई सरकारले हाइड्रोजन ऊर्जा विकासमा सुरक्षित स्थानीय सञ्चालन ढाँचाको रूपमा उपयोग गर्ने बताए। जसबाट हाइड्रोजन इन्धनको दीर्घकालीन प्रयोगका लागि नियम निर्माण गर्न सहयोग हुने विश्वास लीले व्यक्त गरे।
हङकङको हाइड्रोजन अर्थतन्त्रको विकासलाई प्रोत्साहित गर्न पनि यसले मद्दत पु¥याउने लीको विश्वास छ।