टीकापुर घटनामा कैलाली कारागारमा कैद भुक्तान गरिरहेको तीन जना संविधान दिवसका दिन (बुधबार) रिहा भएका छन्।

संविधान दिवसका अवसरमा कैद माफी पाएपछि टीकापुर हत्याकाण्ड कसुरमा जेल जीवन बिताइरहेका तीन जना रिहा भएका हुन्।

कैलाली कारागारमा जेल जीवन बिताइरहेका ९ जना बुधबार रिहा भएका छन्। तीमध्ये ३ जना टीकापुर हत्याकाण्ड मुद्दाका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि उनीहरु रिहा भएका हुन।

टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रिहा भएका छन्।

उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए। त्यस्तै सोही घटनामा माफी मिनाहा पाएका पोखरास्थित बाल सुधारगृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि रिहा भएका छन्।

उनलाई आजै पोखराबाट काठमाडौं र काठमाडौँबाट धनगढी ल्याइने बताइएको छ। रिहा भएकाहरूको कारागारभित्रै अबिर जात्रासहित नागरिक उन्मुक्ति पार्टीले भव्य स्वागत गरेको छ।

नागरिक उन्मुक्तिका संरक्षण रेशमलाल चौधरी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, संघीय सांसद गंगाराम चौधरी, अरुण चौधरीका साथै प्रदेश सरकारका मन्त्री, सांसद लगायतले स्वागत गरेका थिए।

टीकापुर घटनाका मुख्य नाइके मानिएका रेशमलाल चौधरी यसअघि गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते रिहा भएका थिए। उनी तीनै तहको अदालतबाट दोषी ठहर भएका थिए।

वि.सं. २०७२ सालमा टीकापुरमा थरुहट आन्दोलनको क्रममा बालक, सुरक्षाकर्मीसहित ८ जनाको हत्या भएको थियो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर