
राजविराज, २३ भदौ । राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतले शहिदको बलिदानलाई सत्तामा पुग्ने भर्याङको रुपमा मात्र प्रयोग भएको टिप्पणी गरेका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहमा शनिबार आयोजित तेस्रो मधेश आन्दोलनका सहिद रामकृष्ण राउत स्मृति एवम् छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै डा. राउतले अधिकारको लडाईमा ज्यान दिएका मधेशी शहिदसँग विभेद गरिएको बताए । मधेश आन्दोलनमा सहिद राउतले पुर्याएको योगदान बारे चर्चा गर्दै उनले सहिदको बलिदानीलाई राजनीतिक पार्टीहरुले सत्तामा पुग्ने माध्यम मात्र बनाएको टिप्पणी गरे । उनले शहिद प्रतिष्ठानलाई अगाडि बढाउने कार्यमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा गत एसईई परिक्षामा स्थानीय विद्यालय मध्येका उत्कृष्ट एक छात्र र एक छात्रालाई छात्रवृत्ति वितरण गरिएको थियो ।
कार्यक्रममा मधेश प्रदेशसभा सदस्यद्वय सतिश कुमार सिंह, सकिल अलि, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र कुमार माझी, मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेश झा, जसपाका सप्तरी जिल्ला उपसचिव निलेश झा लगायतकाले मन्तव्य व्यक्त गरे ।
शहिद रामकृष्ण राउत स्मृति प्रतिष्ठानको अध्यक्ष राजकुमार राउतको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष धर्मापाल राउतले व्यक्त गरेका थिए ।
