४ भदौ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुखको जिम्मेवारी खोसिएको छ ।
गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो ।
केसीलाई सरुवा गरेर प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पठाइएको छ भने कार्कीलाई महानिरीक्षक वसन्त कुँवरको सचिवालयमा पठाइएको छ ।
शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी वरिष्ठ अधिकृतहरुलाई हटाउन सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाब थियो । हाल जिम्मेवारीबाट हटाइएका एसएसपी केसी नेतृत्वको टोलीले कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको थियो ।

हालै उनले थप १८ जनाको जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान सुरु गरेपछि देउवा सशंकित बनेका थिए । उनले काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी दानबहादुर कार्कीलाई भने यथावत राख्न चाहेका थिए ।
तर, सरकारले केसीको मात्र सरुवा गर्दा थप विवाद हुने भएपछि दुवै युनिटको प्रहरी प्रमुख परिवर्तन गरेको हो ।
केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने काठमाडौं प्रहरी परिसर, टेकुमा एसएसपी भुपेन्द्र खत्रीलाई पठाइएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका एसएसपी सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पठाइएको छ ।
शरणार्थी प्रकरणका दोस्रो चरणको अनुसन्धान अघि बढाउन निर्देशन दिने उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एआईजी श्याम ज्ञवालीलाई पनि यसअघि मन्त्रिपरिषद्ले हटाएको छ । उनको ठाउँमा एआईजी दिपक थापा पठाइएका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका एसएसपी केसीले लामो समयदेखि अलपत्र शरणार्थी प्रकरणको फाइल खोलेर १२ चैत २०७९ मा यो प्रकरणका तीन आरोपीलाई समातेका थिए ।
तत्कालीन आईजीपी धीरजप्रताप सिंह जिम्मेवारीबाट बाहिरिएर नयाँ महानिरीक्षक आउनुअघिको समयमा उनले चलाखीपूर्वक गिरोहका सदस्य केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेका थिए ।

भण्डारीले उपत्यका अपराध अनुसन्धान कार्यालयमा बयान दिंदै प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईदेखि अख्तियार प्रमुख प्रेमकुमार राईसम्मको नाम लिएका थिए ।

पछि प्रकरणलाई ठगी मुद्दामा मात्र अघि बढाएर सामसुम पार्न अनेक प्रपञ्च भए पनि अन्तिम समयमा केसीले थप जाहेरी लिएर जिल्ला प्रहरी परिसर, टेकु पठाइदिएपछि मुद्दा लम्बिएको थियो ।

त्यसक्रममा संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढ्दा पूर्वगृहमन्त्री खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायत पक्राउ परेका थिए ।

खाँणलाई पक्राउ गर्न एसएसपी केसी नेतृत्वको टोली नै उनको निवास पुगेको थियो । त्यही कारण कांग्रेस नेतृत्व उनीसँग रुष्ट थियो । हालै उनले थप १८ जना पीडितको जाहेरी लिएका छन् ।

यो जाहेरीपछि पुर्पक्षका लागि थुनामा रहेकाहरुको फेरि बयान लिनुपर्ने हुन्थ्यो । त्यसक्रममा बाहिर चर्चामा आएका नामहरुमाथि पनि छानबिन सुरु हुनसक्थ्यो ।

यो प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी एवं कांग्रेस नेतृ आरजु राणा देउवा र पूर्वगृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँणको नाम लिएको अडियो समेत सार्वजनिक भएको थियो ।

आफूलाई बदनाम गर्न खोजिएको भन्दै आरजु देउवाले छानबिन गर्न मागसहित साइबर ब्यूरोमा पत्राचार गरेकी थिइन् ।

तर, ब्यूरोको छानबिनमा त्यो अडियो शरणार्थी प्रकरणका अभियुक्त सन्देश शर्माको भएको पुष्टि भएको थियो । यस विषयमा प्रहरी प्रधान कार्यालयले दिएको पत्र नै सार्वजनिक भएको थियो ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर